एजेन्सी– भारतीय अभिनेत्री श्रीदेवीको निधन भएको लगभग एक सातापछि उनकी जेठी छोरी जान्ह्वीले आमाको सम्झनामा इन्स्टाग्राममा भावुक पत्र पोस्ट गरेकी छिन्।
उनले आफ्ना भावना र बुवा बोनी कपुरका लागि पनि पत्रमा उल्लेख गरेकी छिन्। आमाको अभावलाई उनले पत्रमा व्यक्त गरेकी छन्।
‘मलाई थाहा छ, म यसरी नै बाँच्न सिक्नुपर्छ... तमाम सुनसानमा पनि मैले तपाईको माया अहिले पनि महसुस गर्छु,’उनले लेखेकी छिन्, ‘म महसुस गर्न सक्छु, तपाईले मलाई दु:खबाट जोगाउनुभएको थियो। हरेक पटक मेरा आँखा बन्द हुँदा असल कुरा मात्र आउँछ, मलाई थाहा छ, यो सबै तपाई गरिरहनुभएको छ... तपाईं भगवानको वरदानजसरी हाम्रो जीवनमा हुनुहुन्थ्यो... हामी त्यतिबेलासम्म निकै खुसी थियौं।'
उनले थप लेखेकी छन्, 'मेरा साथीहरु भन्थे म सधैं खुसी रहन्थे, अहिले मलाई थाहा भयो त्यो त सब तपाईंकै कारण रहेछ । मेरा लागि कुनै समस्या ठूला थिएनन्, कुनै दिन म उदास भइन किनकि तपाई मेरो साथ हुनुहुन्थ्यो। मलाई कसैप्रति या कुनै चिजप्रति विश्वास गर्न आवश्यक थिएन, किनकि तपाईं मात्र हुनुहुन्थ्यो, जसको मलाई आवश्यकता थियो। तपाईं मेरो जीवनको हिस्सा र साथी हुनुहुन्थ्यो। म पनि तपाईंका लागि केही गर्न चाहन्थेँ मम्मी। म हरेक दिन बिहान नयाँ आशाका साथ दिनको सुरुवात गर्थें, किनकि एक दिन तपाईं ममाथि पक्कै गर्व गर्नुहुनेछ...।’
उनले गुमाइसकेकी आफ्नी आमासँग केही प्रतिबद्धता पनि जनाएकी छन्। ‘म हरेक दिन यही सोचका साथ उठ्नेछु कि तपाईं यहीँ हुनुहुन्छ र म तपाईंलाई महसुस पनि गर्छु। म, खुसी र बुवाबीच तपाईं अझै हुनुहुन्छ। तपाईले हामीलाई जे छाडेर जानुभएको छ, त्यसले अझै बलियो बनाएको छ। अगाडि बढ्न हाम्रा लागि यति नै काफी छ तर सबै तरिकाले कहिले पनि पर्याप्त हुनेछैन।’
उनले खुसी र आफूले आमा गुमाए पनि बुवाले आफ्नो जीवन नै गुमाउनुपरेको पनि उल्लेख गरेकी छन्।
श्रीदेवीको निधनपछि उनका पति बोनी कपुरले समेत ट्विटमा पत्र समावेश गरेका थिए। ‘एउटी साथी, पत्नी र दुई छोरीकी आमा गुमाउनुको पीडा बताएर सकिँदैन। म आफ्ना साथी, परिवार, शुभचिन्तक र अनगिन्ती फ्यानलाई आभार प्रकट गर्न चाहन्छु, जो यो घडीमा मेरो साथ उभिए,' उनले उल्लेख गरेका छन्, 'म भाग्यशाली हुँ, अर्जुन र अंशुलाको सहयोग र माया पाएको छु। उनीहरु खम्बा जसरी तागत बनेर जान्हवी र खुसीसँग उभिए। हाम्रो परिवार यो असह्य घटना झेल्ने कोसिसमा छ।’
बोनीले लेखेका छन्, ‘भगवान् उनको आत्मालाई शान्ति दिऊन्। हाम्रो जिन्दगी उनीबिना सधैं अधुरो रहनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।