एजेन्सी– एक भारतीय म्यागजिनको आवरणमा स्तनपान गराइरहेकी मोडलको तस्बिर छापिएपछि उक्त तस्बिरलाई लिएर सामाजिक सञ्जालमा बहस छेडिएको छ।
केरलाबाट प्रकाशित ‘गृहलक्ष्मी’ म्यागजिनको आवरणमा मोडेल गिलु जोसफले बच्चालाई दूध पिलाइरहेको तस्बिर छापिएपछि विभिन्न टीकाटिप्पणी आएका हुन्।
तस्बिरसँगै लेखिएको छ, ‘आमा केरलाबाट भनिरहेकी छिन्– घुरेर नहेर, म स्तनपान गराउन चाहन्छु।’
कुनै भारतीय म्यागजिनले पहिलो पटक यसरी महिलाले स्तनपान गराइरहेको तस्बिरलाई आवरण बनाएको सञ्चारमाध्यमहरुले लेखेका छन्।
तर, यी मोडल आमा बनिसकेकी छैनन्। यही कारण प्रतिक्रियाको ओइरो लागेको हो।
गृहलक्ष्मीका सम्पादक मोंसी जोसफले भनेका छन्, ‘म्यागजिन आमालाई सार्वजनिक स्थलमा स्तनपान गराउन जरुरी रहेको प्रति सबैको ध्यान आकृष्ट गर्न चाहन्छ।’
एक महिनापहिले एक पुरुषले स्तनपान गराइरहेकी आफ्नी श्रीमतीको तस्बिर फेसुबकमा सेयर गरेका थिए। 'उनी सार्वजनिक स्थलमा आमालाई स्तनपान गराउन दिने विषयमा बहस होस् भन्ने चाहन्थे। तर, सकारात्मक बहस चलाउनुको सट्टा ती महिलाबारे साइबर बुलिङ गरियो,’ जोसफले भनेका छन्, ‘यसैले हामीले स्तनपानको यो विषय आफ्नो नयाँ अंकमा उठाउने फैसला गर्यौं।’
कतिपयले सामाजिक सञ्जालमा म्यागजिन र मोडललाई समर्थन गरेका छन्। तर, स्तनपान गराउने असली आमा नभई मोडल भएका कारण यसको आलोचना बढ्दै गएको छ।
ब्लगर अञ्जना नायरले लेखिन्, ‘बच्चालाई स्तपनपान गराउने असल आमालाई भित्री पेजमा र एक मोडेललाई बच्चा र वस्त्रविहीन स्तनका साथ कभरमा राख्नुको अर्थ सस्तो प्रचार र शोषण हो।’
तर मोडेल गिलु जोसफले म्यागजिनमा छापिन आफूले लिएको निर्णयको बचाउ गरेकी छिन्। उनले भनेकी छिन्, ‘यसबाट म आलोचित हुनुपर्छ भन्ने कुरा मलाई थाहा थियो। मैले ती आमाहरुका लागि यस्तो निर्णय लिएकी हुँ। जो खुलमखुल्ला स्तनपान गराउन चाहन्छन्।’
उनको हवाला दिँदै एक म्यागजिनले लेखेको छ, ‘यदि तपाईं तपाईंको बच्चालाई दूध पिलाउँदै हुनुहुन्छ भने कुन भगवान् रिसाउँछ?’
केरलाका चर्चित लेखक पल जकारियाले म्यागजिनको यो कदम अहम् रहेको बताए। उनले भने, ‘यसले सार्वजनिक स्थलमा स्तनपान गराउने कुरामा कुनै क्रान्ति त आउँदैन। तर, यो एक अहम् कदम भने हो। यस कदमका लागि सम्पादकले माफी माग्नुपर्छ भन्ने मलाई लाग्दैन।’
सार्वजनिक स्थलमा स्तनपान गराउनु दुनियाँभरमै विवादित विषय हो।
स्कटल्यान्डमा गरिएको एक सर्वेमा उल्लेख भएअनुसार एक चौथाइ आमा सार्वजनिक ठाउँमा स्तनपान गराउन असहज महसुस गर्छन्।
बिबिसी हिन्दीबाट अनूदित
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।