काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम)ले सबै जहाजमा भिजिट नेपाल २०२०को लोगो राख्ने भएको छ।
निगमले भिजिट नेपाल २०२०को प्रचारप्रसारका लागि जहाजमा लोगो राख्ने निर्णय गरेको छ। निगमका कार्यकारी अध्यक्ष मदन खरेलको अध्यक्षतामा मंसिर ५ गते बसेको कार्यकारी समितिको बैठकले निगमका सम्पूर्ण विमानहरु र निगमको स्वामित्वमा रहेका सबै सवारी साधनमा नेपाल भ्रमण वर्ष २०२०का लोगोहरु टास्ने निर्णय गरेको हो।
साथै निगमले नेपाल भ्रमण वर्ष २०२०को लक्ष्य र निगमको व्यावसायिक प्रवर्धनलाई केन्द्रित गरी डिजिटल मिडिया सेलबाट फेसबुक, ट्विटर, इन्स्टाग्राम र यूट्युबमा पर्यटन प्रवर्धन सम्बन्धी सामग्री समेत प्रसार गर्ने भएको छ।
यसैगरी निगमले गुणस्तरीय सेवासहित पर्यटक आकर्षण गर्न केन्द्रीय कार्यालय स्थित टिकट बिक्री कक्ष रातिको ८ बजेसम्म खुल्ला राख्ने भएको छ। काठमाडौंका होटेल तथा टुर अपरेटर व्यवसायीहरुसँग सम्झौता गरी विदेशबाट आएका यात्रुहरुलाई निगमका बाह्य स्टेसनबाट प्याकेजमा टिकट समेत बिक्री गर्ने भएको छ।
प्रत्येक अन्तर्राष्ट्रिय स्टेसनहरुमा पर्यटकहरुका लागि गोला प्रथाद्वारा मासिक १ थान टिकट निःशूल्क उपलब्ध गराउने समेत निगमले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।