काठमाडौं- नेपाल उद्योग परिसंघले बैंकको ब्याज नघटेको र उधारो असुलीमा बैंकहरुलाई अफ्ठेरो परेको भन्दै नेपाल राष्ट्र बैंकका गभर्नरको ध्यानाकर्षण गराएको छ।
आइतबार परिसंघ अध्यक्ष सतिशकुमार मोर नेतृत्वको टोलीले गभर्नर डा चिरञ्जिवी नेपाललाई भेटी उद्योग–व्यापारलाई लाग्दै आएको ब्याजदर नघटेको र उद्योगहरुको उधारो असुलमा असहज स्थिति सिर्जना भएको जानकारी गराएको छ। यस्तो स्थितिलाई समाधान गर्न उधारो असुली सम्बन्धि कानुनको व्यवस्था गर्नन आवश्यक रहेकोसमेत मोरले बताए ।
हाल विद्युत उत्पादन क्षेत्रलाई प्राथमिकता प्राप्त कर्जाको क्षेत्रमा राखिएकोमा विद्युतको खपत कम गर्ने कार्यलाई समेत प्राथमिकता प्राप्त कर्जाको क्षेत्रमा राखी प्राथमिक क्षेत्रको कर्जाको गणना गर्नको लागि जलविद्युत उत्पादन सरह गणना गरिनु पर्ने परिसंघको धारणा छ।
रुग्ण भइरहेका र हुन सक्ने उद्योगहरुलाई कर्जा भुक्तानीको लागि पुनः तालिका साथै त्यसो गर्दा बैंक तथा वित्तिय संस्थाले कायम गर्नु पर्ने जोखिम व्यवस्थालाई पुनर्विचार गरि कम गर्नुपर्ने परिसंघको माग छ। परिसंघले बैंकको ब्याज तथा करको भुक्तानीको समय एकै भएकोले यस्तो भुक्तानीको तालिका परिवर्तन गर्न अनुरोध गरेको छ।
परिसंघले राहदानीको आधारमा दिइने हालको सटही सुविधा अत्यन्त कम भएकोले यस्तो सुविधा वृद्धि गर्न पनि माग गरेको छ।
भेटमा गभर्नर नेपालले खास–खास उद्योग र उद्यमीलाई विदेशी मुद्रा सटहीमा समस्या नपर्ने गरी निजहरुको कारोबारको आधार र नेपाली वस्तुको बाह्य मुलुकमा व्यापार पर्वर्द्धन एवं प्रचार प्रसार आदिको लागि सटही सुविधा दिने व्यवस्थासहितको व्यवस्थाको लागि राष्ट्र बैँकबाट नीतिगत व्यवस्था गर्ने उद्देश्यबाट काम थालनी गरिएको जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।