काठमाडौं– सर्वोच्च अदालतले कीर्ते कागजातका आधारमा ऋण दिएपछि बैंकिङ कसुरमा थुनामा रहेका बैंकर अजय श्रेष्ठ र किरणकुमार बोहोरालाई जनही एक करोड धरौटी माग गर्ने आदेश गरेको छ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार रेग्मीको इजलाशले दुवैलाई धरौटीमा रिहा गर्न आदेश गरेको हो।
यसअघि उच्च अदालत पाटनको वाणिज्य इजलाशले पुर्पक्षका लाथि थुनामा पठाउने आदेश गरेको थियो। वाणिज्य इजलाशलको आदेशविरुद्ध दुबैले कात्तिक ७ गते सर्वोच्चमा निवेदन दिएका थिए।
उनीहरुको पुनरावेदनमा सुनुवाई गर्दै सर्वोच्चले थुनामा राख्ने वाणिज्य इजलाशको आदेश बदर गर्दै धरौटी माग गरेको हो। श्रेष्ठ बैंक अफ काठमाडौंका पूर्व प्रमुख कार्यकारी हुन् भने बोहोरा पनि उक्त बैंकका कर्मचारी हुन्।
बैंकका सिइओ श्रेष्ठसहित ११ जनालाई ५ करोड रुपैयाँ ऋण दुरुपयोग गरेको उजुरीपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले असोज ५ गते पक्राउ गरेको थियो।
लुम्बिनी बैंकलाई मर्ज गर्नुअघि नै गएको ऋण दूरुपयोग भएको उजुरी परेको थियो। हेटौंडाका सुरेन्द्र श्रेष्ठले झापाको जग्गा धितोमा राखेर बैंकबाट ऋण लिएका थिए। उनले ऋण लिँदा बैंकमा बुझाएको सबै कागजपत्र नक्कली भएको पुष्टि भएको थियो।
सुरेन्द्रले ऋण तिर्न छाडेपछि बैंकले सम्पत्ति लिलामी गरेर उठाउन खोजपछि यो रहस्य बाहिरिएको थियो। उनले राखेको धितो खोज्दै जाँदा खोला बगेको भेटिएको थियो।
उनले राखेको कागजपत्र सबै नक्कली भएको पुष्टि भएपछि बैंकले कीर्ते कागजपत्र बनाएको भन्दै प्रहरीलाई अनुसन्धानका लागि आग्रह गरेको थियो। प्रहरीले यही बिषयमा अनुसन्धान गर्न श्रेष्ठसहितलाई पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।