काठमाडौं- यातायात व्यवस्था विभागले गतसाता निजी प्रयोजनका लागि दर्ता भएका सवारी सार्वजनिक यातायातको रुपमा प्रयोग गरे कारबाही गर्ने सूचना प्रकाशित गरेको थियो।
ट्राफिक प्रहरीले उक्त सूचनाको आधारमा टुटल/पठाओ लगायतलाई भाडामा यात्रु बोकेको भन्दै कारबाही सुरु गरेको छ।
ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले विसं २०७५ पुस अन्तिम सातादेखि मोटरसाइकलबाट भाडामा यात्रु बोक्नु गैरकानुनी भन्दै कारबाही सुरु गरेको थियो।
विभागसँगको समन्वयमा ट्राफिकले भाडाका यात्रु बोक्न प्रयोग भएका मोटरसाइकल तथा स्कुटरलाई कारबाही गर्न सुरु गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा कारबाही रोकिएको थियो।
तर विभागले गएको बुधबार पुनः सूचना प्रकाशित गरेपछि ट्राफिकले कारबाही थालेको हो। टुटल/पठाओलाई कारबाही गरेको भन्दा पनि कानुन विपरीत काम गर्नेलाई ट्राफिक प्रहरीले कारबाही गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले बताए।
‘कसलाई कारबाही गरियो भन्दा पनि कानुनमा गर्न हुँदैन भनेका काम गर्नेहरुलाई ट्राफिकले कारबाही गरेको हो र यो जारी नै रहनेछ‚’ उनले भने। मोटरसाइकल होस् वा कार‚ भ्यान/मिनिट्रक जुनसुकै सवारी रातो नम्बर प्लेटमा दर्ता भएको छ भने त्यो सार्वजनिक सवारीको रुपमा प्रयोग गर्न नपाइने कानुनी व्यवस्था भएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए।
‘टुटल, पठाओलाई रोक्ने वा सेवा सञ्चालन गर्न दिने भन्ने हाम्रो नीति होइन,’ हमालले भने, ‘कानुनले जे भन्छ त्यही गर्ने हो। कानुन भन्दा बाहिरको विषय विभागले चिन्दैन।’
ट्राफिक प्रहरीसँगको समन्वयमा विभागले छिट्टै गैरकानुनी काम गर्नेलाई कारबाही गर्ने उनले बताए। गैरकानुनी काम गर्नेलाई ट्राफिक प्रहरीसँगको समन्वयमा कारबाही गरिएको हमालको भनाइ छ।
राइड सेयरिङका नाममा मोटरसाइकलमा यात्रु बोक्नेलाई यातायात व्यवस्था विभागको निर्देशनमा गतवर्ष पनि कारबाही गरिएको थियो। तर प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा कारबाही रोकिएको थियो। त्यो सँगै कानुनले वर्जित गरेको काम गर्नेहरुलाई प्रोत्साहन मिलेको थियो।
यातायात सेवा सञ्चालनका लागि यातायात व्यवस्था विभागमा अनिवार्य रुपमा दर्ता हुनुपर्ने कानुनी प्रावधान छ। तर हालसम्म टुटल र पठाओ जस्ता कम्पनीले आफूहरु इनोभेसनमा आधारित भएकाले विभागमा दर्ता हुनु नपर्ने भन्दै अटेरि गर्दै आएका छन्।
प्रधानमन्त्री ओलीको गत वर्षको निर्देशनले पनि उनीहरूलाई गैरकानुनी काममा थप हौसला मिलेको हो। ‘जो सुकैले जसरी सार्वजनिक यातायात सेवा दिए पनि यातायात व्यवस्था विभागबाट ‘नो अब्जेक्सन लेटर’ लिनै पर्ने व्यवस्था छ,’ विभाग स्रोतले भन्यो, ‘अहिलेसम्म टुटल,पठाओलगायत अन्य यस्तै प्रकृतिका एप्लिकेसनमा आधारित कम्पनीले अनुमति लिएका छैनन्।’
सवारी तथा यातायात व्यवस्था ऐन २०४९को दफा ८को उपदफा १मा निजी प्रयोगको लागि दर्ता प्रमाणपत्र प्राप्त सवारीलाई निजी सवारी भनिने उल्लेख छ। त्यस्तै उक्त दफाको उपदफा २मा ‘निजी सवारी यातायात सेवाको लागि प्रयोग गर्न पाइने छैन’ भनी स्पष्ट रुपमा लेखिएको छ।
निजी सवारी भन्नाले रातो प्लेटमा सेतो अक्षर र अंक हुनु पर्नेछ भनी ऐनको अनुसूची २को खण्ड ‘ग’मा किटान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।