काठमाडौं- आइतबार बिहान भारतीय सयमअनुसार ११ बजेर २३ मिनेट जाँदा इन्धिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको एयर बस-३२० फ्लाइट नम्बर २०३ ले काठमाडौं उडान सुरु गर्यो। नेपाली समय अनुसार सो जहाजले ११ बजेर ३८ मिनेटमा उडान सुरु गरेको थियो।
सामान्यतया, दिल्ली-काठमाडौं उडानको समय १ घन्टा १५ मिनेटको हो। सोअनुसार नेपाल एयरलाइन्सको उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १२ बजेर ५३ मिनेट जाँदा ल्यान्ड भइसक्नु पर्ने हुन्थ्यो। तर, सो समयमा जहाज आकाशमै फन्को मारिरहेको थियो। सिमरा बिन्दुबाट इन्ट्री भएको जहाजले नेपाली आकाशमा ७ फन्को मारेको थियो।

दिउँसो १२ बजेर ५३ मिनेटमा ल्यान्ड हुने पर्ने नेपाल एयरलाइन्सको फ्लाइट नम्बर २०६ को 'सगरमाथा' एयरबस-३२० जहाज १ बजेर ३८ मिनेटमा मात्रै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड भयो। ४५ मिनेट आकाशै फन्को मार्न बाध्य भएको थियो सो जहाज।
आकाशमै फन्को मार्ने क्रम तिहारपछि सामान्यजस्तै भएको छ जहाजका लागि। जहाज होल्ड हुने समय बढेको र डिले हुने गरेकाले यात्रुले विरोध गर्दै आएका छन्। केही दिन अघि पनि दाङबाट काठमाडौंका लागि उडेको नेपाल एयरलाइन्सको वाई-१२ जहाजले पनि एक घन्टा १५ मिनेटको उडान समयमा झन्डै ४५ मिनेट जहाज आकाशै फन्को मार्नु परेको थियो। आइतबार बिहान मात्रै पनि पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजले ३० मिनेटभन्दा बढी समय जहाज आकाशै फन्को मार्नु पर्यो।
000
यी त भए, आकाशमै जहाज होल्ड भएका प्रतिनिधि उदाहरण। पछिल्लो डेढ महिनायता नेपाली आकाशमा जहाज होल्ड हुने क्रम बढिरहेको छ। जहाज होल्ड हुने क्रम बढेसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले समेत विमानस्थल कार्यालयलाई समस्या समाधानमा केन्द्रित हुने निर्देशन गरिसकेको छन्।
जहाज होल्ड हुने समय बढेसँगै विमानस्थल कार्यालयले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानको संख्या घटाउने तयारी थालेको छ। उडान संख्या घटाउने तयारी भएसँगै सरोकारवालहरूसँग छलफल सुरु भएको विमानस्थल टावर कन्ट्रोल प्रमुख सीताराम भण्डारी बताउँछन्।
पछिल्लो सयम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान र दिउँसोको समयमा भिजिबिलिटी कम हुने भएकाले जहाजले आकाशमै फन्को मार्नु पर्ने अवस्था आएको भण्डारीको भनाइ छ।

विमानस्थलमा सरदर अन्तर्राष्ट्रिय सरदर ३० मिनेटसम्म विमान उडान तथा अवतरणमा डिले हुने गरेको विमानस्थल टावर कन्ट्रोल रुमका कर्मचारीहरु पनि स्वीकार गर्छन्। ‘उडान तथा अवतरणमा ढिलाइ हुनुमा धेरै कारण छन्,’ टावर कन्ट्रोल प्रमुख भण्डारी भन्छन्, ‘विमानस्थलमा प्रयोग भएका उपकरण र कर्मचारीका कारण मात्रै ढिलाइ भएको होइन।’ विमान डिले हुनुमा पार्किङ–वे, मौसम, वायुसेवा कम्पनीको उडान तालिका, विमानस्थल मर्मतको काम र उपकरण सबै पक्ष जोडिने उनको भनाइ छ।
‘पछिल्लो समय विमान डिले तथा आकाशमै फन्को मार्नुपर्ने समय बढेको साँचो हो,’ भण्डारीले भने, ‘उड्डयन क्षेत्रमा डिले सामान्य विषय हो। तर, कति समय र कारण के हो भन्ने विषय ठूलो हुन्छ।’ एउटा मात्रै रन-वे हुनु र बढ्दो हवाई यात्रुको संख्याका कारणले पनि विमान उडान तथा अवतरणमा डिले भइरहेको विमानस्थल कार्यालयका प्रवक्ता प्रतापबाबु तिवारी बताउँछन्।
एक दर्जन पनि ठूला विमान पार्किङ गर्न मिल्ने स्थान नभएको विमानस्थलमा अहिले झन्डै ३० वटा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन्। जसका कारण पनि विमान उडान तथा अवतरणमा केही समय स्भाविक रुपमा डिले हुने गरेको विमानस्थल टावर कन्ट्रोल रुमको भनाइ छ।
अहिले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रियतर्फ ८० वटा र आन्तरिकतर्फ ३ सयभन्दा बढी गरी झन्डै दैनिक ४ सयको संख्यामा उडान तथा अवतरण भइरहेको छ। यो उडान तथा अवतरणको संख्या विमानस्थलको क्षमताभन्दा बढी रहेको विमानस्थल कार्यालयको भनाइ छ।

तर, विमानस्थल कार्यालयले बढ्दो उडान संख्यालाई समेत मध्यनजर गर्दै व्यवस्थापन गरिरहेको दाबी गरिरहेको छ। पछिल्लो समय विमान डिले हुनुको सबैभन्दा महत्वपूर्ण कारण मौसमसमेत बनेको छ। काठमाडौं तथा तराईका विमानस्थलमा केही दिनयता बढेको बाक्लो हुस्सुका कारण पनि विमान उडान तथा अवतरणमा ढिलाइ भएको विमानस्थल कार्यालयको भनाइ छ।
विमानस्थल कार्यालयको भनाइसँग वायुसेवा कम्पनीहरुको मत मिलेको छ। तर, मौसमबाहेक पनि विमानस्थल कार्यालयको लापरबाहीका कारण विमान डिलेको समस्या केही बढेको वायुसेवा कम्पनीका प्रतिनिधिहरुको आरोप छ। त्यति मात्रै नभई वायुसेवा सञ्चालकहरुले आन्तरिक उडानलाई प्राथमिकतामा नराख्दा जहाज डिलेको समय बढेको भन्दै केही दिन अगाडि विज्ञप्ती समेत सार्वजनिक गरेका थिए।
तर, वायुसेवा कम्पनीको आरोप सत्य नभएको विमानस्थलका कर्मचारीको बताउँछन्। वायुसेवा कम्पनीहरु बीच विमान थप्ने होडबाजीका कारण पनि डिलेको समस्या बढेको कर्मचारीहरुको आरोप छ। हवाई सेवाको ’बेस’ उपत्यका बाहिर भए पनि वायुसेवा कम्पनीहरुले उपत्यकालाई नै आधार बनाएर उडान तथा अवतरण गर्ने प्रवृत्तिका कारण केही हदसम्म समयमै उडान तथा अवतरणमा समस्या आएको विमानस्थल टावर कन्ट्रोल रुमको भनाइ छ।

आन्तरिक उडानमा भन्दा पछिल्लो सयम अन्तर्राष्ट्रिय उडानमा ढिलाइको समय अवधि बढी देखिएको टावर कन्ट्रोल रुमका प्रमुख भन्डारी पनि स्वीकार गर्छन्। पछिल्लो सयम अन्तर्राष्ट्रिय उडान सेवा दिँदै आएका वायु सेवा कम्पनीका विमान समयभन्दा अगाडि नै नेपाली आकाशमा आइपुग्दा बढी समय डिले हुने गरेको कन्ट्रोल रुमको भनाइ छ।
लामो दूरी अर्थात् ५ देखि ६ घन्टासम्मको उडान गर्ने विमान अहिले ’टेल विइङ’का कारण अवतरण समयभन्दा ३०-४५ मिनेट अगाडि नै गन्तव्य नजिक आइपुग्दा समयमै अवतरण हुन नसकेको कन्ट्रोल रुमको भनाइ छ। तर, आन्तरिक उडानमा भने मौसमका कारण मात्रै केही समय विमान डिले हुने गरेको विमानस्थल कार्यालयको दाबी छ। ‘टेल विइङ’ भनेको विमानको पछाडिपट्टिबाट हावाको दबाब बढ्नु हो। जसका कारण विमानको गति बढी हुन जान्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।