नयाँ दिल्ली– अमेरिकामा महात्मा गान्धीको हस्तलिखित चिठी बिक्रीका लागि राखिएको छ। गान्धीले सो चिठीमा ईसा मसिहका बारेमा लेखेका थिए। सन् १९२६ अप्रिल ६ मा लेखिएको सो चिठी गान्धीले इसाई धार्मिक नेता मिल्टन न्युबैरी फ्रान्जलाई सम्बोधन गरेर लेखेका थिए।
चिठीमा ईसा मसिह मानवताका महान शिक्षक भएको गान्धीले उल्लेख गरेका छन्। सो चिठी दशकौँदेखि निजी स्वामित्वमा रहेकोमा हाल राब कलेक्सनले ५० हजार अमेरिकी डलरमा लिलाम गर्ने भएको छ।
भारतीय स्वतन्त्रता आन्दोलनका प्रमुख नेता मोहनदास करमचन्द गान्धीलाई उनका अनुयायीहरु माया र सम्मान प्रकट गर्दै महात्मा गान्धीको नामले पुकार्छन्।
जब महात्मा गान्धीलाई इसाई धर्मको बारेमा पढ्न आग्रह गरियो, तब गान्धीले सोको जवाफस्वरुप फ्रान्जको नाममा साबरमती आश्रममा सो पत्र लेखेको बताइन्छ।

पत्रमा लेखिएको छ,‘प्रिय मित्र तपाइँको पत्र हात पर्यो। मलाई डर छ कि तपाईले इसाई भजन मन्डलीको सदस्य बन्न गर्नुभएको आग्रह मेरो लागि सम्भव छैन। सदस्य बन्न यो मान्नु पर्छ कि अदृश्य वास्तविकताको सर्वोच्च स्वरुप नै ईसा मसिह हो। मैले पुरा कोशिष गरेपनि यो भनाइको सत्यताको महशुष गर्न सकिन।’
‘म यो विश्वासबाट अगाडि बढ्न सकेको छैन कि ईसा मसिह मानवताका एक महान शिक्षक थिए। तपाईलाई यो लाग्दैन कि धार्मिक एकता कुनै एक मन्डलीको सामूहिक सदस्यता लिनुभन्दा पनि हरेक मन्डलीका एक अर्काबिचमा विश्वास गर्नबाट आउँछ?’, पत्रमा प्रश्न गरिएको छ।
अनुसन्धान गर्दा ईसा मसिहका बारेमा गान्धीले लेखेको अन्य कुनै पनि पत्र यसअघि लिलामीमा नराखिएको राब कलेक्सेनले दावी गरेको छ।
गान्धीसँग जोडिएका वस्तुको लिलामी तथा बिक्री
- सन् २०१२ अप्रिलः गान्धीको हत्या गरिएको स्थलको माटो र घाँस; मुल्य- १० हजार पाउन्ड।
- सन् २०१३ फेब्रुअरीः आफ्नो रिहाईको माग गर्दै सन् १९४३ मा गान्धी आफैले जेलमा टाइप गरेको पत्र; मुल्य- १ लाख १५ हजार पाउन्ड।
- सन् २०१३ मेः मृत्युपश्चात् आफ्नो सम्पतीमा अधिकार कसको रहने भन्ने सम्बन्धमा गान्धीले गुजराती भाषामा लेखेको पत्र; मुल्य- ५५ हजार पाउन्ड।
- सन् २००९ मार्चः न्युयोर्कमा गान्धीले प्रयोगमा ल्याएको चस्मा, पकेट वाच, चप्पल, थाल, र कचौरा; मुल्य- १८ लाख अमेरिकी डलर।
- सन् २००९ जुलाईः बिसौँ शताब्दीको सुरुवातमा दक्षिण अफ्रिकामा रहँदा गान्धी बसेको घर बिक्रीमा राखिएको।
- सन् २००७ जुलाईः गान्धीले लेखेको अन्तिम पत्र भारत सरकारले अधिग्रहण गर्दै लिलामीबाट हटाइएको।
- सन् १९९८ जुलाईः लन्डनमा ऐतिहासिक वस्तुहरुको लिलामी गरिने केन्द्र सोथबीजमा गान्धीले लेखेको पत्र तथा कार्ड; मुल्य- ३० हजार डलर।
(बिबिसी हिन्दीबाट)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।