



काठमाडौं- पुँजी बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डले डेढ महिनादेखि रिक्त रहेको अध्यक्षको पदपूर्तिका लागि सार्वजनिक सूचना प्रकाशित गरेको छ।
बोर्डले शुक्रबार धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ७ बमोजिम खुला प्रतियोगिताबाट अध्यक्ष छनौटका लागि १५ दिने सार्वजनिक सुचना निकालिएको हो।
यसअघिका अध्यक्ष डा रेवतबहादुर कार्की गत असोजमा आफ्नो ४ वर्षे कार्यकाल सकेर बोर्डबाट बिदा भएका थिए। आवेदन मागेसँगै बोर्डले नयाँ अध्यक्षको सिफारिस सम्बन्धी कार्यविधि २०७६ पनि जारी गरेको छ।
कार्यविधिमा अध्यक्षका लागि उम्मेदवारी दिने व्यक्तिको शैक्षिक योग्यता, अनुभव, उमेर तथा अन्य मापदण्ड तोकिएको छ। कार्यविधिअनुसार अध्यक्षका लागि कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरि बजार व्यवस्थापन, पूँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तिमा ७ वर्षको अनुभव भएको व्यक्ति आवेदनका लागि योग्य हुने बोर्डले जनाएको छ।
त्यस्तै ३० वर्ष पुरा भई ६५ वर्ष ननाँघेको उमेर हद तोकिएको छ। कार्यविधिमा भएको व्यवस्थाअनुसार उम्मेदवारले संस्थागत कार्ययोजनासमेत पेश गर्नुपर्नेछ। उम्मेदवारको मूल्यांकन सम्बन्धी अंकभारमा सबैभन्दा धेरै ४० अंक संस्थागत कार्ययोजनाका लागि तोकिएको छ। त्यस्तै शैक्षिक योग्यताका आधारमा १०, कार्ययोजनाको प्रस्तुतीकरणमा २० र अन्तरवार्तामा ३० अंकभार तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।