काठमाडौं- नयाँ सरकार दुई तिहाईको बनाउने कोसिस जारी छ। मधेश केन्द्रित दल संघीय समाजवादी फोरमलाई सरकारमा सहभागी गराएर दुई तिहाईको बलियो सरकार चलाउने योजना प्रधानमन्त्री केपी शर्मा ओलीको छ। फोरमसमेत सरकारमा आउन तयार छ।
दुवै दलले गठन गरेको अनौपचारिक कार्यदलले संविधान संशोधनमा सहमतीका बुँदा तयार गरिसकेको छ। आपसी सहमतीमा मधेस आन्दोलनका माग सम्बोधन गर्दै संविधान संशोधन गर्ने सहमतीको बुदाँ समेत तयार छ।
सहमतीको ड्राफ्टमा हस्ताक्षर गर्न सत्तारुढ दल नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेतृत्वलाई कुनै समस्या छैन, फोरम अध्यक्ष उपेन्द्र यादवसमेत हस्ताक्षरका लागि तयार छन्।
सत्ता साझेदार दल माओवादी केन्द्र संविधान संशोधनमा अगाडिदेखि नै सहमत हो। सत्ताको नेतृत्वकर्ता दल एमाले समेत मधेसको माग सम्बोधनमा पछिल्लो समय लचक देखिएको छ। वाम पार्टी एकताको निर्णय गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनमा एमाले नेतृत्वलाई मनाउन सफल भएका छन्।
त्यसो भए सरकार र फोरमबीच किन सहमती हुन सकेन त? कुरा अड्किएको छ, मन्त्रालयको संख्यामा।
सरकारले सुरुमा फोरमलाई एक मन्त्रालय र एक राज्यमन्त्री लिएर सरकारमा सहभागी हुन प्रस्ताव गर्यो। तर, फोरम अध्यक्ष यादवले उपप्रधानसहित ४ मन्त्रालयबाट कुरा सुरु गरे। ‘एमाले र माओवादी अब एक पार्टी हुँदैछन्। अब हामी प्रमुख सत्ता साझेदारमा सरकारमा आउँदैछौं। त्यसैले हामीलाई ४ मन्त्रालय दिन आवश्यक छ,’ उपेन्द्र यादवको भनाइ छ।
सरकार पनि अर्को मधेश केन्द्रित दल राजपा नेपाललाई ‘माइनस’ गर्दै फोरमलाई मात्र सरकारमा ल्याउन केन्द्रित छ। सरकारले अब परराष्ट्रसहित दुई मन्त्रालय र एक राज्यमन्त्रीसहित सरकारमा आउन ‘फोरम’लाई अफर गरेको छ।
प्रधानमन्त्री ओलीले समेत परराष्ट्र मन्त्रालय लिएर सरकारमा आउन यादवलाई ‘विशेष’ आग्रह गरेका छन्।
फोरम अध्यक्ष यादव अब तीन मन्त्रालयमा झरेका छन्। उनी परराष्ट्रसहित एक विकासे र एक सेवा मूलक मन्त्रालय दिन एमाले र माओवादीसँग ‘बार्गेनिङ’ गरिरहेका छन्। यादव दुई मन्त्रालय लिएर समेत सरकारमा जान राजी छन्। तर, उनको सर्त छ, उपप्रधानमन्त्री पाउनुपर्ने। उपप्रधानसहित दुई मन्त्रालय पाए उनी पार्टीको नेतृत्व गरेर सरकारमा जान तयार छन्। उपप्रधान नपाए तीन मन्त्रालय पाउनुपर्ने अडान यादवको छ।
फोरमका एक नेताका अनुसार उपप्रधान नपाए यादव सरकारमा नजान सक्छन्। ‘उपप्रधानमन्त्री पाएको खण्डमा आफ्नो नेतृत्वमा दुई मन्त्रालयमा चित्त बुझाउन सकिने आशय अध्यक्षजीको छ,’ उनले भने।
प्रस्ट छ, फोरम ढिलो चाँडो सरकारमा आउनेछ। यादव समेत परिपक्क समयको खोजीमा छन्। मधेस आन्दोलनको सम्बोधन हुनुपर्ने नेता कार्यकर्ताको चर्को दबाबले समेत यादवलाई एमाले नेतृत्वसँग सम्झौता गर्न सकस भइरहेको छ।
‘कार्यकर्ताको चर्को दबाब अध्यक्षमाथि छ, समयसँगै नेता कार्यकर्ताको दबाब कम भएपछि फोरम सरकारमा जानेछ।’ फोरमका प्रभावशाली एक नेताले भने।
सरकार र फोरमबीच आजै साँझ बैठक बस्ने तयारी छ। सम्भवत आजैको बैठकले मन्त्रालय बाँडफाँटको अन्तिम टुंगो लाग्न पनि सक्ने ती नेता बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।