येरेभान- अर्मेनियाको संसदले शुक्रबार अर्मेन सार्किसियनलाई चौथो राष्ट्रपतिका रुपमा चयन गरेको छ।
देशको समाचार संस्था अर्मेनप्रेसका अनुसार संसदका ९० जना सांसदले सार्किसियनलाई मतदान गरेका थिए भने उनको विपक्षमा १० मत परेको थियो। एउटा मत भने बदर भएको अधिकारीले जनाएका छन्।
राष्ट्रपतिमा निर्वाचित भएको घोषणा भएपछि सार्किसियनले जनसेवाको आफ्नो लामो र बृहत् अनुभवका आधारमा आगामी दिनमा काम गर्ने बताएका छन्।
उनी आगामी सात वर्षका लागि राष्ट्रपतिमा निर्वाचित भएका हुन्। उनको कार्यकाल आगामी अप्रिल ९ देखि सुरु हुनेछ।
क्याम्ब्रिज विश्वविद्यालय र ‘इन्स्टिच्युड अफ भ्याथमेटिक्स अफ लन्डन युनिभर्सिटी’का पूर्व प्राध्यापक अर्मेन सार्किसियनलाई सत्तारुढ दल रिपब्लिक पार्टी अफ अर्मेनिया (आरपिए) ले जनवरीमा मनोनयन गरेको थियो।
सार्किसियन अर्मेनियाका पूर्व प्रधानमन्त्री समेत हुन्। उनले १९९६ नोभेम्बरदेखि १९९७ मार्चसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।