काठमाडौं– बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम ‘दबंग द टुर’ तोकिएको मितिमा नहुने भएको छ। आयोजकका अनुसार एक महिनाका लागि कार्यक्रम पछि सारिएको हो।
सुरक्षाका कारण कार्यक्रम सारिएको आयोजक ओडिसी इन्टरटेन्मेन्टका सीमान्त गुरुङले बताएका छन्।
पहिले सलमान खानको नेपाल भ्रमणका सम्बन्धमा सम्झौता गर्दा उल्लेख भएअनुसार नै कार्यक्रम सारिएको उनको दाबी छ। नेपाल लाइभसँग कुरा गर्दै गुरुङले भने, ‘कार्यक्रम रद्द भएको होइन। राजनीतिक रुपमा स्थितरता नदेखिएकाले र सुरक्षा व्यवस्थामा चुनौती आउन सक्ने सम्भावनाले कार्यक्रम तत्कालका लागि स्थगित गरिएको हो। यिनै कारणले तत्काल कार्यक्रम नगरौं भनेर तोकिएको मितिभन्दा पर सार्नुपरेको हो।’
आयोजकले सलमान आउने अर्को मिति तोकिसकेको छैन। यस विषयमा सलामानसँग कुरा भइरहेको गुरुङले बताए। सलमाल खानसहितको कन्सर्ट ‘दबंग द टुर’ १० मार्चमा काठमाडौंमा हुने तय भएको थियो। टुँडीखेलमा हुने भनिएको कार्यक्रममा अभिनेत्री सानोक्षी सिन्हा, प्रभु देवा, मनिष पललगायतका कलाकार पनि उपस्थित हुने बताइएको थियो।
२०७२ को भूकम्प र नाकाबन्दीपछि नेपालको पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रचार न्यूनीकरण गर्दैै नेपाल सुरक्षित गन्तव्य भएको सन्देश दिन कार्यक्रम गर्न लागिएको आयोजकले बताएको थियो।
यसैबीच नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले कार्यक्रम गर्न नदिने चेतावनी दिँदै आएको थियो। सो चेतावनीपछि सर्वसाधारणमा त्रास फैलिएकाले सुरक्षा चुनौतीलाई मध्येनजर गर्दै कार्यक्रम सारिएको बुझिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।