काठमाडौं– शुक्रबारबाट नेपालमा ३ वटा नयाँ फिल्म एक साथ प्रर्दशनमा आएका छन्।
‘ब्लाइन्ड रक्स’, ‘नाका’ र ‘तिम्रै छोरी तरुनी हाम्लाई के को दोष’ को एकसाथ प्रदर्शन सुरु भएको हो। प्रर्दशनमा आएका ३ फिल्महरुमध्ये 'ब्लाइन्ड रक्स' र 'नाका'को प्रचार प्रसार केही मात्रामा भए पनि ‘तिम्रै छोरी तरुनी हाम्लाई के को दोष’को प्रचार प्रसार भने शुन्य प्रायः छ।
निर्देशक मिलन चाम्सद्धारा निर्देशित फिल्म ‘ब्लाइन्ड रक्स’ एक बायोपिक फिल्म हो। जसमा १४ बर्षको उमेरमा दृष्टि गुमाएकी सृष्टी केसीको कथालाई प्रस्तुत गरिएको छ। फिल्ममा सृष्टिको भूमिकामा अभिनेत्री बेनिशा हमाल सँगै अर्पण थापा, बसुन्धरा भुसाल लागायतका कलाकारहरुको अभिनय रहेको छ। फिल्मले यसअघि सम्पन्न गरेको प्रिमियर सोमा दर्शकबाट निकै उत्कृष्ट प्रतिक्रिया पाएको थियो।
त्यसैगरी अमित श्रेष्ठ निर्देशित फिल्म नाकामा नेपाल र चीनको तातोपानी नाकामा हुने गरेका अवैध धन्दाहरुको कथालाई प्रस्तुत गरिएको छ। फिल्ममा विपिन कार्की मुख्य भूमिकामा देखिएका छन् भने रोविन तामाङ, प्रकाश गन्धर्व डेब्यु नायिका थिन्ले लाह्मो लगायतका कलाकारहरुको अभिनय रहेको छ।
यस्तै तेस्रो फिल्म ‘तिम्रै छोरी तरुनी हाम्लाई के को दोष’ पनि शुक्रबारबाटै नेपालका हलहरुमा प्रर्दशनमा आएको छ। फिल्ममा अभिनेता जयकिसन बस्नेत मुख्य भूमिकामा देखिएका छन्।
निर्देशक सुरेश असिमले निर्देशन गरेका फिल्ममा जयकिसनसँगै विष्णु सापकोटा, महिमा सिलवाल सुधन धिताल लगायतका कालकारहरुको अभिनय रहेको छ।
यी तीन फिल्मसँगै नेपालका केही तराईका जिल्लाहरुमा फिल्म ‘संरक्षण’ रि–रिलिज भएको छ। गएको साउन २७ गते देशव्यापी प्रदर्शनमा आएको फिल्ममा अभिनेताद्वय सौगात मल्ल र निखिल उप्रेती मुख्य भुमिकामा रहेका छन्। तराईमा लगातारको वर्षा र डुबानका कारण त्यतिबेला अपेक्षित दर्शकको साथ नपाएकाले फिल्म होलीका अवसरमा पुनः रिलिज गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।