काठमाडौं- नेपाल निर्माण व्यवसायी महासंघले सिन्धुलीको दूधौली नगरपालिका–१३ अरुण ठाकुरमा सडक निर्माणमा प्रयोग भइरहेको निर्माण व्यवसायी छेत्रबहादुर बम्जनको स्काभेटरमा अज्ञात समूहबाट आगजनी गरिएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघले बिहीबार विज्ञप्ति जारी गरी व्यवसायी र उनीहरुको उपकरणको सुरक्षालाई लिएर सरोकारवाला निकायहरुको पटक-पटक ध्यानाकर्षण गराउँदासमेत यस्ता घटना दोहोरिनु ठूलो चिन्ताको विषय भएको जनाएको छ।
'विविध चुनौतिका बाबजुद निर्माण कार्यमा अहोरात्र खटिने व्यवसायीहरुलाई पेशाबाट नै पलायन गर्ने गरी भएको यस आततायी घटनाको महासंघ कडा शब्दमा निन्दा गर्दछ,' महासंघका महासचिव रोशन दाहालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।
महासंघले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा सजाय दिन गृह प्रशासन समक्ष आग्रह गर्दै देशभरका निर्माण व्यवसायी सहित उनीहरुको उपकरणको सुरक्षाको पूर्ण प्रत्याभूति गर्न जोडदार माग गरेको छ।
व्यवसायीहरुको संयमतालाई कमजोरी नठान्न आग्रह गर्दै महासंघले व्यवसायीहरु माथिको अन्याय, अत्याचार नरोकिए पेशागत सुरक्षाका लागि देशभरको निर्माण कार्य ठप्प पार्दै सशक्त आन्दोलनमा उत्रन बाध्य हुने चेतावनीसमेत दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।