काठमाडौं- पोल तथा सार्वजनिक गाडीमा काम नगर्ने ठेकेदारको फोटो टाँसेर सर्वसाधारणले विरोध जनाएपछि भक्तपुर-नगरकोट-सिपाघाट सडकको कामले तिव्रता पाएको छ। पछिल्लो एक सातामा उक्त सडकको भौतिक प्रगति ७ प्रतिशत भएको छ।
२०१४ को जुन ५ मा ठेक्का सम्झौता भएको उक्त सडकको ४ पटक म्याद थपी सकिएको छ। सुरु सम्झौता अनुसार भक्तपुर-नगरकोट-सिपाघाट सडक २०१६ को जुनमा सकिनु पर्थ्यो। तर ठेकेदार कम्पनी एआइपिएल-सैलुङ कन्स्ट्रक्सन जेभीले समयमा काम नगर्दै सडक निर्माणमा ढिलाइ भएको हो।
कार्तिक २३ गतेदेखि साइटमा काम सुरु भएको र त्यसको केही दिनमै स्थानीयले ठेकेदार शारदाप्रसाद अधिकारीको फोटो पोल तथा सार्वजनिक बसमा टाँसेर भद्र विरोध जनाएका थिए। भारतीय कम्पनी एआइपिएलसँग संयुक्त रुपमा ठेक्का जितेको सैलुङ कन्स्ट्रक्सनले काम गरिरहेको छ। सैलुङ कन्स्ट्रक्सन कम्पनी अधिकारीको हो।
१५ किलोमिटर लम्बाईको उक्त बाटो निर्माणका लागि एआइपिएल-सैलुङ जेभीले ३१ करोड ५२ लाख रुपैयाँमा ठेक्का लिएको थियो। अहिले उक्त ठेक्कामा भेरिएन अडर्ड (भीओ) १३.७७ प्रतिशतले वृद्धि भएको आयोजना प्रमुख जगत प्रजापतीले जानकारी दिए।
‘भीओ सहित हाल उक्त ठेक्काको कुल रकम ३५ करोड ८७ लाख (भ्याटसहित) रुपैयाँ पुगेको छ,’ उनले भने, ‘अहिले ठेकेदार कम्पनीले दुई सिफ्टमा काम गरि रहेकाले आयोजनाको भौतिक प्रगति समेत राम्रो देखिएको छ।’
यो सडकको निर्माणका लागि सरकारले ठेक्का सक्ने म्याद ४ पटक थप गरिसकेको छ। चौथो पटक थप गरिएको म्याद २०२० अप्रिल १९ सम्म रहेको छ।
यो अवधिमा अहिलेकै गतिमा काम भयो भने सकिने अनुमान गरिएको आयोजना प्रमुख प्रजापतिको भनाइ छ। ‘बाटोको वेस बनाइ सकेकाले पछिल्लो समय काममा तिब्रता देखिएकाले भौतिक प्रगति उल्लेख देखिएको हो,’ उनले भने, ‘एक सातामा १२ किलोमिटर बाटोमा सवबेसको काम भइसकेको छ।’

आयोजनको अनुगमतका लागि परामर्शदाताले समेत काम गरिरहेको छ। त्यस्तै केही दिनदेखि आयोजना प्रमुख आफैं समेत फिल्डमा खटिएका छन्। बाटोमा धुलो उडेकोलयात विभिन्न समस्याहरु आउने र नियमित अनुगमनका लागि फिल्डमा पुगेको प्रजापतिको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।