काठमाडौं- सडक सुधार योजनाअन्तर्गत सरकारले ३ चरणमा काम थालेको थियो। पहिलो चरणको काम सकिएको छ भने दोस्रो चरणको सडक निर्माण अन्यौलग्रस्त छ।
तेस्रो चरण अन्तर्गतका १२ वटा ठेक्का रहेका छन्। यी मध्ये ११ वटा ठेक्का गत आर्थिक वर्षमै लागेको थियो। एउटा भने ठेक्का लाग्ने क्रममा छ।
तेस्रो चरणअन्तर्गतका सडक निर्माणको प्रगतिसमेत सन्तोषजनक देखिएको छैन। दोस्रो चरणमा ७ करोड २३ लाख ४० हजार अमेरिकी डलरमा १७ वटा ठेक्का लगाइएको थियो। त्यसमध्ये ५ वटाको काम सकिएको छ भने १२ वटाको काम जारी छ। उक्त ठेक्काअन्तर्गत ५/६ वटाको प्रगति भने निरासाजनक रहेको सडक सुधार तथा विकास आयोजना निर्देशनालयले जनाएको छ।
नेपाल सरकार र भारतको निर्यात आयात (एम्जिम) बैंकबीच भएको ऋण सहयोग सम्झौताअनुसार विभिन्न जिल्लाका सडकहरु निर्माण तथा स्तरोन्नतीको काम भइरहेको छ। तेस्रो चरणअन्तर्गत सडकका लागि ३३ करोड अमेरिकी डलरमा १२ वटा ठेक्का लगाइएको छ।
यी सडक परियोजनाको ठेक्का आर्थिक वर्ष २०७५/७६ मै लगाइएको निर्देशनायलका प्रवक्ता तथा सिडिई रमेशप्रसाद पौडेलले जानकारी दिए। ‘तेस्रो चरणअन्तर्गतका परियोजनाहरु मध्ये ११ वटाको ठेक्का गत आर्थिक वर्षमै लागेको हो, जहाँ काम भइरहेको छ,’ उनले भने, ‘एउटा सडकको भने ठेक्का लाग्ने क्रममा रहेको छ।’ ठेक्का लागेको एक वर्ष उक्त आयोजनाहरुको भौतिक प्रगती करिब १२ प्रतिशत हुनुपर्ने निर्देशनालयको भनाइ छ।

तर हालसम्म ठेक्का लागेका ११ आयोजनाको भौतिक प्रगति शून्यदेखि ११ प्रतिशतसम्म छ। ठेक्का लागेको पहिलो वर्ष रुख कटान, साइट क्लियर गर्नेलगायत धेरै काम गर्नुपर्ने भएकाले काम केही ढिलो भएको हुन सक्ने निर्देशनालय प्रवक्ता पौडेलको भनाइ छ। ‘पहिलो वर्ष साइटमा समस्याहरु मिलाउन समय लाग्छ,’ उनले भने, ‘यो वर्ष सडक निर्माणको प्रगति उत्साहजनक हुने अपेक्षा छ।’
सबै सडकमा परामर्शदाता नियुक्त गरिएकाले सडकको गुणस्तरलगायतको अनुगमन परामर्शदाताले नै गर्नेछन्। तेस्रो चरणको सडक निर्माणका लागि २ देखि ३ वर्षको ठेक्का अवधि रहेको छ। तेस्रो चरणको सुधारअन्तर्गत निर्माणाधीन सडकको २०१९ सेप्टेम्बरसम्मको प्रगति विवरण यस्तो छ:
भेडेटार–रवि–राँके सडक
यो सडकको लम्बाई १ सय किलोमिटर रहेको छ। हालसम्म यो सडकको भौतिक प्रगति ४.८४ प्रतिशत रहेको छ।
चरिकोट–जिरी सडक
दोलखाको चरिकोटदेखि जिरीसम्मको सडक तेस्रो चरणको सुधारअन्तर्गत स्तरोन्नती भइरहेको छ। ५५ किलोमिटर लम्बाइको यो सडक खण्डको भौतिक प्रगति ८.०३ प्रतिशत भएको छ।
गैँडाकोट–रामपुर–पिपलडाँडा
कालिगण्डकी करिडोरअन्तर्गतको यो सडक खण्डको लम्बाई १ सय ३१ किलोमिटर रहेको छ। यो सडकको भौतिक प्रगति ९.६ प्रतिशत रहेको छ।
बगदुला–भिमगिट्टे सडक
बगदुला भिमगिट्टे सडकको लम्बाई ७३.५ किलोमिटर रहेको छ। यो सडकको भौतिक प्रगति शून्य रहेको छ। ठेकेदारले केही काम अघि नबढाएका कारण प्रगति नदेखिएको हो।
सहजपुर–बोगटाङ सडक
तेस्रो चरणअन्तर्गत निर्धाणाधीन सडक मध्ये यो सडक सबैभन्दा धेरै प्रगति हासिग गरेको छ। ५० किलोमिटर लम्बाईको यो सडकको भौतिक प्रगति ११.१६ प्रतिशत रहेको छ।
बर्दिवास–जलेश्वर सडक (जलेश्वर–राजविराज सहरी सडकसहित)
जलेश्वरदेखि राजविराजसम्मको सहरी सडक समेतलाई जोडेर यो आयोजना निर्माण भइरहेको छ। ८९ किलोमिटर लामो यो सडकको भौतिक प्रगति ४.२७ प्रतिशत रहेको छ।
बसतपुर–कठरिया–कवाहीगोठ–पिपर्दि (पदम–मलंगवा सहरि सडकसहित)
४१ किलोमिटर लम्बाईको यो सडक आयोजना अन्तर्गत पनि सहरी सडक समेत निर्माण हुनेछ। यो सडकको हासम्मको भौतिक प्रगति ०.७४ प्रतिशत रहेको छ।
चन्द्रौटा–कृष्णनगर सडक (कृष्णनगर सहरी सडकसहित)
कपिलवस्तुको चन्द्रौटादेखि कृष्णनगरसम्मको यो सडकको लम्बाई २८ किलोमिटर रहेको छ। यो सडक अन्तर्गत कृष्णनगर सहरी सडकसमेत बन्ने छ। यसको हालसम्मको भौतिक प्रगति १.१५ प्रतिशत रहेको छ।
गण्डक नहर सडक (बारा र पर्सा खण्ड)
यो सडकको लम्बाई ६२ किलोमिटर रहेको छ। बरा र पर्सा सडक खण्ड अन्तर्गतको गण्डक नहर सडकको हालसम्मको भौतिक प्रगति १.११ प्रतिशत रहेको छ।
महेन्द्र राजमार्ग गुलरिया–रजनवा र नेपालगञ्ज सहरी सडक
महेन्द्र राजमार्ग अन्तर्गतको यो सडक खण्डको लम्बाई ५१ किलोमिटर रहेको छ। यो सडकको भौतिक प्रगति ४.९४ प्रतिशत रहेको छ।
लमही–घोराही सडकको बबही–तुल्सीपुर खण्ड
यो सडकको लम्बाई २८ किलोमिटर छ भने हालसम्म कुनै भौतिक प्रगति हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।