काठमाडौं- सिरहाबाट २० हजार लिटर डिजेलसहित बेपत्ता भएकाे ट्यांकर फेला परेकाे छ। ट्यांकर धनुषाको रामदहैयामा फेला परेकाे हाे।
ट्ंयाकर राम मन्दिर छेउँमा हाइवेमा पार्किङ गरेर राखेको अवस्थामा फेला परेकाे हाे। ट्यांकर खाली अवस्थामा फेला परेकाे धनुषाका एसपी शेखर खनाले नेपाल लाइभलाई जानकारी दिए। घटनाका बारेमा अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।
नेपाल आयल निगमको इन्धन डिपो अमलेखगंजबाट मंसिर १ गते दिनको २ बजे प्रदेश १ प्रादेशिक कार्यालयका लागि डिजेल बोकेर गएको ट्यांकर हराएकाे थियाे।
काठमाडौं उपत्यकाको बिक्री मूल्य अनुसार १९ लाख ४० हजार रुपैयाँ बराबरको डिजेल बोकेको ट्यांकर हिडेंकाे थियाे। उक्त ट्ंयाकर निगमका ढुवानीकर्ता राजेशकुमार गुप्ताको नाममा करार सम्झौता भई संचालनमा रहेको थियाे।
२० हजार लिटर डिजेल लोड भएको ना ४ ख ४१६३ नंम्बरको ट्यांकर निगमको प्रदेश १ प्रादेशिक कार्यालय विराटनगर लैजाने क्रममा सिरहा जिल्लाको लहानमा मूल राजमार्गको हुलाक कार्यालय अगाडि विश्राम गरेको अवस्थामा राती १२ देखि १ बजेको बीचमा लुटेराको चंगुलमा परेको निगमले जनाएकाे छ।
ट्यांकर हराएकाे बारेमा सत्यतथ्य बुझ्न भन्दै यसअघि निगमले प्रादेशिक कार्यालय प्रमुख अशोक साहको संयोजकत्वमा ४ सदस्यीय छानबिन टोली गठन गरेको छ। छानबिन समितिलाई ७ दिनको समय दिइएको छ।
(प्रतीकात्मक तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।