काठमाडौं- बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्टिच्युट अफ नेपाल लिमिटेडको आयोजनामा बुधबारबाट काठमाडौंमा ‘एमएफआइएस बोर्ड अफ डिरेक्टरर्स एन्ड म्यानेजमेन्ट कन्सोर्टिएम-२०१९’सम्बन्धी अन्तर्राष्ट्रियस्तरको १ दिने सम्मेलनको आयोजना हुने भएको छ।
सम्मेलनमा नेपालका लघुवित्त संस्थाहरूले वित्तीय क्षेत्रमा पुर्याएको योगदान तथा यस क्षेत्रमा देखिएका चुनौतीबारे छलफल हुनेछ। भारत र बंगलादेशका प्रतिनिधिले आफ्नो देशका लघुवित्त संस्थाहरुले कसरी काम गरिरहेका छन् वित्तीय प्रगति हासिल गरिरहेका छन् भन्ने विषयमा आफ्ना अनुभव साट्नेछन्।
भारत र बंगलादेशका लघुवित्त संस्थाको अनुभव र लघुवित्तबाट वाणिज्य बैंकका रुपमा परिणत भएका बैंकको अनुभवबाट नेपालका लघुवित्त संस्थाले के कस्तो विषयहरुमा कार्वान्वयन ल्याउन सकिन्छ भन्ने उद्देश्यले यो सम्मेलन आयोजना गरिएको हो। यस सम्मेलनले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा लघुवित्तका संचालक, प्रमुखहरु र कर्मचारीहरुको ज्ञान वृद्धि गर्नमा योगदान पुग्ने विश्वास गरिएको छ।
उक्त सम्मेलनको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले गर्नेछन्। कार्यक्रममा बंगलादेशका पूर्व गभर्नर तथा ढाका विश्वविद्यालयका प्रोफेसर अतुर रहमानले बंगलादेशमा लघुवित्त संस्थाले कसरी वित्तीय क्षेत्रमा फड्को मारे भन्ने विषयमा आफ्ना विचार तथा अनुभवहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। त्यस्तै बंधन बैंकका संस्थापक प्रबन्ध निर्देशक चन्द्रशेखर घोषले लघुवित्तबाट वाणिज्य बैंकसम्मको उक्त बैंकको यात्राका विषयमा आफ्नो अनुभव राख्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।