प्रचण्डको सचिवालयले भन्यो- मन्त्रीका विषयमा प्रचण्डलाई जोड्नु भ्रामक समाचार

नेपाल लाइभ | २०७६ मङ्सिर ३ मंगलबार | Tuesday, November 19, 2019 ११:२४:०० मा प्रकाशित

काठमाडौं- मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत जोडेर आइरहेका समाचारलाई उनको सचिवालयले खण्डन गरेको छ।

'हाम्रो पार्टी नेतृत्वमा रहेको वर्तमान सरकारमा सहभागी मन्त्रीहरूका विषयमा प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रसारित/प्रकाशित अनर्गल र भ्रामक समाचारको हाम्रो सचिवालय घोर भर्त्सना र खण्डन गर्दछ,'  मंगलबार सचिवालयले भनेको छ।

पछिल्लो समय केही पूर्व माओवादी मन्त्रीहरुका नाममा प्रचण्डलाई समेत जोडेर समाचारहरु सार्वजनिक भइरहेका छन्।

‘मन्त्री मण्डल फेरबदलको विषय प्रधानमन्त्री केपी शर्मा ओली कै क्षेत्राधिकारको विषय रहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले बारम्बार जोड दिइरहनुभएको तथ्य सबैमा विदितै छ,’ सचिवालयले भनेको छ, ‘पत्रकारिताको सामान्य मान्यताको पनि ख्याल नगरी भएको यस प्रकारको दुष्प्रचार भ्रममा नपर्न सबैमा आग्रह गर्दछौं।’