८ अर्बको आइपिओ जारी गरेर चुक्ता पुँजी २० अर्ब पुर्‍याउँदै नेपाल इन्फ्रास्ट्रक्चर बैंक

मंसिर २९ गते पहिलो वार्षिक साधारणसभा
नेपाल लाइभ | २०७६ मङ्सिर ३ मंगलबार | Tuesday, November 19, 2019 १०:५०:०० मा प्रकाशित

काठमाडौं- नेपाल इन्फ्रास्ट्रक्चर बैंकले मंसिर २९ गते पहिलो वार्षिक साधारणसभा गर्ने भएको छ।

बैंकको कात्तिक २५ गते बसेको संचालक समितिले गरेका निर्णय वार्षिक साधारण सभाबाट पारित गरिनेछ।

बैंकको जारी पुँजीअन्तर्गत सर्वसाधारण समूहका लागि छुट्याइएको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपिओ जारी गर्ने प्रस्ताव साधारण सभामा लैजाने छ। 

हाल १२ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको बैंक आइपिओ निष्कासनपछि २० अर्बको बन्नेछ।

चुक्तापुँजीमा भएको भएको वृद्धिअनुसार बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि साधारणसभामा लगिने भएको छ।

संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने संचालकहरुको निर्वाचन गर्ने तथा संचालक समितिबाट पछिल्ला २ आर्थिक वर्षका लागि भएका संचालक नियुक्तिलाई अनुमोदन गर्ने प्रस्ताव पनि साधारण सभामार्फत पारित गरिने जनाइएको छ।

पूर्वाधार क्षेत्रमा लगानीमार्फत दिगो विकासको लक्ष्य हासिल गर्ने उद्देश्यले खोलिएको उक्त बैंकमा नेपाल सरकार, विभिन्न बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रको लगानी रहेको छ।

संस्थाको हालको स्वीकृत पुँजी ४० अर्ब छ भने जारी पुँजी २० अर्ब छ।