काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला आयोजनाहरूलाई प्रतिकूल प्रभाव नपार्ने गरी जग्गाको मुआब्जा लिने काम गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन्।
प्रधानमन्त्री ओलीले नागरिकले अनुचित ढंगले जग्गाको मुआब्जा लिने गरेकाले ठूला आयोजनाहरू विलम्ब र महंगो हुने बताए। रसुवा र नुवाकोटमा निर्माण भएको ६० मेगावाटको माथिल्लो त्रिशुली थ्री 'ए' जलविद्युत आयोजनाको सोमबार प्रधानमन्त्री कार्यालयको एक्शन रुमबाट स्विच अन गरेर उद्घाटन गर्दै उनले विकास निर्माणको कामलाई सहज ढंगले अघि बढाउन पनि नागरिकहरूले ठूलो आयोजनाको जग्गाको मुआब्जाको मूल्य महंगो बनाउन नहुने स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले सरकारले अघि बढाएका योजना देश र जनताको हितका लागि भएकाले यसमा धेरै महंगो हुने गरी मुआब्जा लिने काम गर्न नहुने बताए। प्रधानमन्त्री ओलीले जनताले अनुचित ढंगले जग्गा मुआब्जाको मूल्य तोकेकै कारण मुलुकको समृद्धिका लागि योगदान पुर्याउने ठूलाठूला जलविद्युत आयोजनाहरूलाई अघि बढाउने काममा विलम्ब भइरहेको बताए।
उक्त विद्युत आयोजनाले मुलुकमा विद्युत आयात न्यूनिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उनकाे भनाइ छ। प्रधानमन्त्री ओलीले सरकारले उर्जा, कृषि, पर्यटन, उद्योगलगायतका क्षेत्रको विकास गरेर मुलुकलाई सामाजिक न्यायसहितको समृद्धिको दिशामा अघि बढाउन चाहेको बताए।
प्रधानमन्त्रीले उद्घाटन गरेकाे उक्त आयोजनाले दिनमा १४ लाख ४० हजार युनिट विजुली उत्पादन गर्न सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। काठमाडौं उपत्यकाको विद्युत आपूर्तिमा सन्तुलन ल्याउन र हिउँद महिनामा भारतसँग आयात हुने विद्युत न्यूनिकरण गर्न आयोजनाले सघाउ पुर्याउने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।