काठमाडौं- रसुवा र नुवाकोटमा निर्माण भएको ६० मेगावाटको माथिल्लो त्रिशुली थ्री-ए जलविद्युत् आयोजनाको सोमबार उद्घाटन भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंबाट र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन र अर्थमन्त्री डा युवराज खतिवडाले आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका–५ सिम्लेबाट आयोजनाको उद्घाटन गरेका हुन्। आयोजनाको पहिलो र दोस्रो युनिट (३०/३० मेगावाट)बाट क्रमशः गत ३ जेठ र १७ साउनबाट परीक्षण उत्पादन सुरु भएको थियो।
सोमबार उद्घाटन भएसँगै आयोजनाबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन सुरु भएको छ। नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र चिनियाँ सरकारको सहुलियतपूर्ण ऋणमा निर्माण भएको आयोजनाको अनुमानित लागत १४ अर्ब ४३ करोड रुपैयाँ (निर्माण अवधिको व्याजबाहेक) रहेको थियो।
निर्माण अवधिको २ अर्ब ८९ करोड व्याजसहित १७ अर्ब ३२ करोड रुपैयाँमा आयोजना निर्माण सम्पन्न भएको छ। चिनियाँ एक्जिम बैकको १२ करोड ५८ लाख अमेरिकी डलर सहुलितपूर्ण ऋण लगानी प्रवाह भएको यो आयोजना इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा निर्माण भएको हो।
विभिन्न समस्या झेल्दै रुग्ण बनेको आयोजनालाई २०७२ वैशाखको विनाशकारी भूकम्प र त्यसपछि आएको बाढीपहिरोले झनै प्रभावित पारेको हो।
भूकम्प र पहिरोले आयोजनाको बाँधको दायाँ–बायाँ र प्रवेश मार्गको विभिन्न स्थानमा क्षति पुर्याएको थियो। नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयका आधारमा पहिरोको रोकथाम र सडक मर्मतको जिम्मा नेपाली सेनाले पाएको थियो। यसका लागि ६१ करोड १९ लाख रुपैयाँ थप खर्च भएको थियो।
आयोजनाबाट उत्पादित विद्युत् किस्पाङ ५ सिम्ले स्थित स्विचयार्डबाट ४८ किलोमिटर प्रसारण लाइनमार्फत काठमाडौंको मातातीर्थमा ल्याई राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ। आयोजनाले स्जियार्डबाट निर्माणाधीन त्रिशूली ‘थ्रि बी’ हब सबस्टेसनसम्म १.३ किलोमिटर १ सय ३२ केभी डबल सर्किट, सबस्टेसनबाट काठमाडौंको बाडभञ्ज्याङसम्म ३८.६ किलोमिटर २ सय २० केभी डबल सर्किट, बाडभञ्ज्याङबाट मातातीर्थसम्म ४.८ किलोमिटर फोर सर्किट प्रसारण लाइन निर्माण गरेको छ।
मातातीर्थमा १.३५ किलोमिटर २ सय २० केभी फोर सर्किट प्रसारण लाइनलाई भूमिगत गरिएको छ। आयोजनाकै खर्चबाट निर्माण गरिएको प्रसारण लाइनबाट त्रिशूली र मर्स्याङ्दी नदी बेसिनमा निर्माण भइरहेका अन्य जलविद्युत आयोजनाहरुको विद्युत काठमाडौं उपत्यकामा ल्याई राष्ट्रिय प्रणालीमा प्रवाह गर्न पूर्वाधार पनि तयार भएको छ।
प्रसारण लाइन निर्माणका लागि चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेसन (सिडब्लूई)सँग २ करोड २६ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो। इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा सिभिल विद्युत्गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सिजिजिसी)सँग १४ जेठ २०६७ (२८ मे २०१०)मा ठेक्का सम्झौता भएको थियो।
सुरुको सम्झौताअनुसार १७ जेठ २०७१ अर्थात् ३१ मे २०१४ भित्र नै यो आयोजना सम्पन्न हुन पर्ने थियो। विद्युत गृह भूमिगत बनाउने कि सतहमा बनाउने भन्ने विवाद, आयोजनाको क्षमता बढाएर ९० मेगावाट बनाउने निर्णय लगायतका कारणले निर्माण प्रभावित भएको थियो।
त्यसपछि आयोजनाको म्याद दुई वर्ष थपेर ३० जुन २०१६ भित्रमा सक्ने लक्ष्य राखिएको थियो। विनाशकारी भूकप्प र पहिरोले काबु बाहिरको परिस्थिति उत्पन्न भएपछि म्याद फेरि तीन वर्ष थपेर र ३० अप्रिल २०१९ भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।
आयोजनाको निर्माण पछिल्लो पल्ट थपिएकै समयमा सम्पन्न भएको हो। आयोजना राष्टिय विद्युत् प्रणाली र त्यसमा पनि मुख्य रुपमा ‘लोडसेन्टर’ अर्थात काठमाडौं उपत्यकाकोको विद्युत माग र आपूर्तिको व्यवस्थापनको लागि भरपर्दो आधार तयार भएको छ। आयोजनाबाट वार्षिक रुपमा करिब ४९ करोड युनिट ऊर्जा उत्पादन हुने छ।
आयोजना वर्षको साढे आठ महिना पूर्ण क्षमता (६० मेगावाट)मा चल्नेछ। त्यस्तै हिउँदमा समेत करिब ४५ मेगावाट विद्युत् उत्पादन हुने भएकाले यसबाट मुलकको विद्युत् आपूर्ति प्रणालीलाई सन्तुलित र विश्वनीय बनाउन थप बल पुग्नेछ।
यो आयोजनाले मुलकभित्र खपत हुने ऊर्जामा करिब ७ प्रतिशतको योगदान दिने छ। यसबाट कुलेखानी जलाशयको पानी बचत गर्न र आयातित विद्युत्को परिमाण घटाउन सहयोग पुग्ने छ।
आयोजनाका मुख्य संरचना र प्रसारण लाइनले प्रभावित रसुवा, नुवाकोट, धादिङ र काठमाडौं जिल्लामा ‘आयोजना सहयोग कार्यक्रम’अन्तर्गत ८ वटा विद्यालय भवनको निर्माण, किलोमिटर सडक कालोपत्रे तथा स्तरोन्नती खानेपानी आपूर्ति प्रणालीको कार्यान्वयन, त्रिशुली हस्पिटल जाने सडको स्तरोन्नति, अस्पताललाई उपकरण, खेल मैदान निर्माण, सिंचाइ सुविधा उपलब्ध गराउने जस्ता सामाजिक विकासको कामका लागि झण्डै ४० करोड रुपैयाँ खर्च गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।