काठमाडौ- नेपाल विद्यार्थी संघको उमेर हद र नेतृत्वविहीन संघका बारेमा पार्टी नेतृत्व गम्भीर नभएको भन्दै विद्यार्थी नेताहरुले चिन्ता व्यक्त गरेका छन्।
संघको कार्यसमितिलाई ९ महिनाअघि भंग गरेको पार्टीले ‘नर्सरी’ संगठन निष्क्रिय बनाएको छ। 'माउ पार्टीको प्रवृत्ति र नेविसंघको विधान विषयक' अन्तक्रियामा विद्यार्थीहरूले विधान विपरीत तदर्थ समिति आउन लागेको भन्दै पार्टी नेतृत्वप्रति खनिए।
नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले भने, ‘नेविसंघमा ३२ वर्षको उमेर हदबन्दी तोकिएको छ। पार्टी नेतृत्वले आफ्नो सहजताको लागि विधान मिचेको छ।’ उनले थपे, ‘भोलि समग्र संगठनिक अवस्थामा पर्ने असरको जिम्मेवारी पार्टी नेतृत्वले लिनुपर्छ।’
पूर्व उपाध्यक्ष रामप्रसाद अधिकारीले १२औं महाधिवेसनका लागि उमेर हद लागु गरि जिल्ला अधिवेसनहरु के हुने भनि पार्टी नेतृत्वलाई प्रश्न गरे।
पूर्व सहमहामन्त्री डिल्लीराम सुवेदी र अर्का विद्यार्थी नेता बलदेव तिमल्सिनाले नेविसंघले आफैंले बनाएको विधान कार्यान्वयन आफैले कार्यान्वयन गर्न नपाएको भन्दै गुनासो पोखे। पार्टीको प्रवृत्तिले भ्रातृ संस्थाहरु निरिह बनेको विद्यार्थी नेता नवराज त्रिपाठीको चिन्ता थियो। उमेर हद ३२ वर्ष पार गरि तदर्थ समिति गठन गरिए आमरण अनशनमा बस्ने चेतावनी दिए।
विद्यार्थी नेता निरञ्जन थापाले भारतले गरेको सीमा अतिक्रमणका विरुद्धमा विरोध गर्नुपर्ने समय आफ्नै पार्टीका विरोधमा लाग्नुपर्ने अवस्था आएको बताए।
सत्याग्रही डा गोविन्द केसीका मागहरूमा समर्थन गर्दै उनले उठाएका मागहरू सम्बोधन गराउन दबाब सिर्जना गर्ने विद्यार्थी नेताहरुले बताए। अतिक्रमित नेपाली भूभाग फिर्ता गराउन विभिन्न आन्दोलनका कार्यक्रम गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।