काठमाडौं- पूर्व प्रधानमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले भारतले अतिक्रमण गरेको नेपाली भूमिबारे वार्ता गर्न टोली पठाउँदा ध्यान पुर्याउन सरकारलाई सुझाव दिएका छन्।
भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेत राखेपछि नेपालमा यसविरुद्ध आक्रोश बढेको छ।
यही विषयमा छलफल गर्न संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सोमबार परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई बोलाएको थियो। समितिको छलफलमा नेता नेपालले सरकारले यस विषयमा कूटनीति तहबाट वार्ता गर्नुपर्ने भन्दै वार्ता गर्न टोली पठाउँदा ध्यान दिन सुझाव दिए।
‘एउटा कुरामा होस गर्नुहोस्, मैले के सुन्ने गरेको छु भने नेपालबाट खटाइएका मान्छेहरु पारिपट्टी जान्छन्,’ उनले सुनाए, ‘उनीहरुलाई मिठो पकवान्न खुवाउँछन्। नेपाली धारणा एकदमै कमजोर बनाइदिन्छन् भन्ने मैले जैले पनि सुन्ने गरेको छु। त्यो चिज नहोस्। राम्रा मान्छेको चयन गरेर पठाउनुपर्यो।’
संसदीय समितिको एउटा छलफलमा परराष्ट्र मन्त्रालयकै एक कर्मचारीले लिम्पियाधुरामा नेपालको हक नलाग्ने धारणा व्यक्त गरेको त्यस्ता कर्मचारीलाई कारबाही गर्नुपर्ने बताए।
‘अलिकित तलमाथि गर्छ भने त्यस्तो व्यक्तिलाई कुनै पनि विभागमा र कार्यालयमा राख्नै हुँदैन,’ उनले भने, ‘संवेदनशील कुरा हो यो। परराष्ट्र र नापी विभाग दुइटै निकै संवेदनशील ठाउँहरु हुन्। यस्ता ठाउँमा ती मान्छेहरु राख्नुहुँदैन।’
पूर्ण तयारी गरौं
नेता नेपालले सीमा विवादबारे भारतसँग वार्ता गर्दा तथ्य, तथ्यांकसहित सम्पूर्ण हिसाबले तयार भएर जान सुझाव दिए। ‘हामी एउटा कुरा राख्दा अर्को कुरा बिर्सिन्छौं,’ नेता नेपालको सुझाव छ, ‘त्यसैले कुनै पनि तहमा कुराकानी गर्दा सम्पूर्ण हिसाबले तयार गरेर, तथ्य तथ्यांकसहित तयारी गरेर जानुपर्छ।’
उनले सन् २०१५ मा चीन र भारतले लिपुलेकलाई दुई देशबीचको व्यापार नाका बनाउन समझदारी गरेको विषयले पनि कालापानी क्षेत्रलाई अप्ठ्यारो पारेको बताए। उनले यो विषयमा चीनसँग पनि कुरा गर्न सरकारलाई सुझाव दिए।
विवाद टुंग्याउँदा भारतलाई पनि फाइदा
भारतले नेपालसँगको सिमा विवाद लम्ब्याउन भन्दा टुंग्याउनमा बढी फाइदा रहेको पनि बताए। कूटनीतिक र राजनीतिक तहबाट वार्ता गर्न सरकारलाई सुझाउँदै उनले भने, ‘वार्ताबाट समस्या समाधान गर्दा हामी दुइटै देशलाई फाइदा हुन्छ। विवाद टुंग्याउन भारतले पनि एउटा अवसर पाएको छ।’
नेपालमा भारतविरोधी भावना भएको कुराप्रति भारतीय नेताहरु अहिले पनि चिन्तित भएको भन्दै त्यसको कारण उनीहरु आफैंले खोज्नुपर्ने बताए।
‘अहिले पनि भारतीय नेताहरु एउटा कुरामा चिन्तित भएको देखिन्छ- हामी नेपालसँग राम्रो सम्बन्ध राख्न चाहन्छौं तैपनि नेपालीहरुको मानसिकता किन भारत विरोधी हुन्छ?,’ नेता नेपालले भने, ‘यो प्रश्नको जवाफ हामीले खोज्ने होइन भारत आफैले खोज्नुपर्छ।’
भारतले नेपालको संवदेशनशिलता नबुझेकै कारण यस्तो भएको उनको विश्लेषण छ।‘नेपाली संवेदनशिलता नबुझ्ने, नेपाली जनताको संवेदनशिलता र भावना नबुझ्ने अनि यस्तै कुराले गर्दा नै नेपालीहरुको भावना भड्किँदै गयो,’ नेता नेपालको भनाइ छ।
उनले यस्तो नकरात्मकता धेरै बढ्नुभन्दा पहिले नै लचकता देखाउन पनि भारतलाई आग्रह गरे। भारतलाई नेपालतर्फबाट कुनै समस्या खडा हुने कुरामा चिन्ता लिन जरुरी पनि नभएको उनको भनाइ छ।
‘त्यो भूभाग (कालापानी)बाट अरु कुनै पक्षबाट रणनीतिक समस्या खडा हुन्छ कि भन्ने चिन्ता गर्न जरुरी पनि छैन्,’ नेता नेपालको भनाइ छ, ‘किनभने चीन र भारतबीचको सम्बन्ध पनि राम्रो हुँदै गइरहेको छ। नेपालका तर्फबाट समस्या खडा हुँदा पनि हुँदैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।