पोखरा– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले काङ्ग्रेस र कम्युनिस्ट गलत बाटोमा भएको हुँदा सच्याउनको निमित्त उपनिर्वाचनमा जनताले राप्रपालाई छनोट गर्नुपर्ने बताएका छन्। ठूला-ठूला भ्रस्टाचारको काण्डमा ठूला दलहरुको संलग्नता भएको भन्दै थापाले लोकतन्त्रको नाममा देशमा लुटतन्त्र हावी भएको बताए।
एनसेल कर छुट, ३३ क्विन्टल सुन काण्ड, वाइडबढी हवाइजहाज काण्डमा ठूला दल र नेताहरुको संलग्नता रहेको चर्चा गर्दै थापाले विदेशी हस्तक्षेप र प्रभाव रोक्न राष्ट्रवादी शक्ति बलियो हुनुपर्ने आवश्यकता औंल्याए।
परिवर्तनको नाममा हामीले धर्म, संस्कृति कमजोर बनायौं, आत्मसमर्पणवादी मानसिकताको विकास गर्यौं भन्दै उनले यो प्रवृत्तिको अन्त्य जरुरी भएको बताए।
कास्की -२ को चुनावी अभियानमा सहभागी हुँदै थापाले कास्कीको निर्वाचन परिणामले सरकार ढल्ने वा काङ्ग्रेस बढ्ने अवस्था नभएकोले परिवर्तनको सन्देश दिन राप्रपालाई जिताउन आग्रह गरे।
काङ्ग्रेस कम्युनिस्टलाई जितायौं भने मनपरितन्त्र, ब्रम्हलुट, विकृतिको नै मनोबल बढ्ने हुँदा अराजक प्रवृत्तिको अन्त्यको लागि राप्रपालाई मतदान गर्न थापाले आग्रह गरे। थापाले आज कास्की -२ को तीन स्थानमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गरेका थिए।
३३ नम्बर वडा बागमारा बजार, २१ नम्बर बडा कृस्ती र पोखरा पुरानो बसपार्क ९ नम्बर वडामा आयोजित सभालाई थापाले सम्बोधन गरेका थिए। कार्यक्रममा पार्टीका उपाध्यक्ष तोरण गुरुङ, प्रदेश अध्यक्ष हेमजङ्ग गुरुङ, उम्मेदवार रोमबहादुर भण्डारी र चुनावो अभियानका संयोजक जयलाल पुन लगायतले बोलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।