काठमाडौं- संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले लिम्पियाधुरा सीमा अतिक्रमणको विषय अन्तराष्ट्रियकरण गर्न सरकारलाई निर्देशन दिएको छ। राजनीतिक तथा कुटनीतिक पहलबाट समस्या समाधान नभए सो विषयलाई अन्तराष्ट्रियकरण गर्ने निर्देशन दिएको हो।
सोमबार बसेको समितिको बैठकले सरकारलाई दिइएको निर्देशनमा भनिएको छ, ‘उक्त क्षेत्रलाई नेपालको सार्वभौम अधिकार कायम राख्न तत्काल उच्चस्तरीय राजनीतिक एवं कुटनीतिक पहल गर्नुपर्दछ। दुई देशबीचको कुटनीतिक पहलबाट समस्या समाधान नभएमा यस विषयलाई अन्तराष्ट्रियकरण गर्न समेत नेपाल सरकारलाई सुझाव छ।’
भारतले नेपाली भूमि अतिक्रमण गरी नक्सा तयार पारेको विषयमा नेपाल सरकार, सम्पूर्ण राजनीतिक दल, सामाजिक संघसंस्था, नेपाली नागरिक र सञ्चारमाध्यमलाई एकठाउँमा उभिन आग्रह गरिएको छ। आम नेपालीहरुले भारतीय अतिक्रमणको विरोध गरिरहेका बेला नेपाल भारतबीचका अन्य सीमा विवादको समेत स्थायी समाधान गर्न नेपाल सरकारलाई सुझाइएको छ।
कालापानीलगायतका अन्य सीमा क्षेत्रमा नेपालका तर्फबाट सीमा सुरक्षा बलको स्थायी ब्यारेक खडा गरी सीमाको स्थायी सुरक्षाको व्यवस्था गर्न नेपाल सरकारलाई अनुरोध गरिएको छ।
नेपालका शैक्षिक सामाग्री भएका गलत नेपालको नक्सा सुधार गर्नुका साथै प्रचलनमा ल्याइने नेपालको नक्सामा लिम्पियाधुरासम्मको भूभाग समावेश गरी नक्सा तयार गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ।
समितिको बैठकमा लामो समयपछि पूर्व प्रधानमन्त्री तथा राज्य व्यवस्था समितिका सदस्य सांसद पुष्पकमल दाहाल प्रचण्ड समेत उपस्थित थिए।
सांसदले उठाएका विभिन्न सवालको नेपाल सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले जफाव दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।