काठमाडौँ- नेपाल भारतबीचको सीमाका विषयमा देखिएको समस्या समाधानका लागि दुई देशबीच वार्ता पहल सुरु भएको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ। सीमाका विषयमा टुंगो लगाउन परराष्ट्र सचिवस्तरीय वार्ताको पहल भएको दिल्लीस्थित नेपाली दूतावास स्रोतले जानकारी दिएको छ।
भारतले हालै जारी गरेको राजनीतिक नक्सामा नेपालको भूभाग पनि समेटिएको भन्दै विरोध भइरहेको छ।
२३ कात्तिकमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकले कूटनीतिक माध्यमबाट भारतसँग वार्ता गर्न सरकारलाई सुझाव दिएको थियो। यसपछि नेपालले दुवै देशका परराष्ट्र सचिवस्तरीय वार्ताको पहल गरेको हो। वार्ताका लागि भारतीय पक्ष पनि सकारात्मक भएको दूतावास स्रोतको भनाइ छ।
भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक पनि समेटिएको समाचार प्रकाशित भएपछि परराष्ट्र मन्त्रालयले २० कात्तिकमा कालापानी क्षेत्र नेपालको भएको स्पष्ट पार्दै विज्ञप्ति सार्वजनिक गरेको थियो। २१ कात्तिकमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीशकुमारले विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा भारतले नेपालसँगको सीमामा कुनै परिमार्जन नगरेको दाबी गरेका थिए। उनले समस्या भएका विषयमा वार्ताका लागि भारत तयार रहेको पनि बताएका थिए।
सचिवस्तरीय वार्ताको पहल भए पनि वार्ता हुने मिति भने सार्वजनिक नभएको दूतावासले जनाएको छ। यता नेपालको परराष्ट्र मन्त्रालय स्रोत भने बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको नेपाल भ्रमणलगत्तै वार्ता गर्ने तयारीमा रहेको जनाएको छ। बंगलादेशका राष्ट्रपति हमिद २६ कात्तिकमा चार दिने औपचारिक भ्रमणमा नेपाल आउँदैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।