काठमाडौं- वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई सीप अनिवार्य गर्ने उद्देश्यले वैदेशिक रोजगार बोर्डले निःशुल्क तालिम दिने भएको छ। यस आर्थिक वर्षमा १५ हजार युवाहरूलाई निःशुल्क तालिम प्रदान गरिने वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए।
‘यो तालिम पहिलो चरणमा सिटिइभिटीबाट मान्यता प्राप्त आङ्गिक तालिम केन्द्रबाट तालिम दिइने छ, दोस्रो चरणदेखि निजी तालिम प्रदायक संस्थालाई पनि समेट्ने योजना हामीले बनाएका छौँ,’ कार्यकारी निर्देशक श्रेष्ठले नेपाल लाइभसँग भने। सहजताका लागि नेपालका सातै वटा प्रदेशबाट नि:शुल्क तालिम प्रदान गर्ने गरी छलफल भइरहेको निर्देशक श्रेष्ठले बताए।
निर्देशक श्रेष्ठले भने, ‘हामी यसै वर्ष तालिमलाई ७ वटै प्रदेशबाट दिने तयारी गरिरहेका छौं, यो व्यवस्था भएपछि १ महिनाको तालिमका लागि काठमाडौं धाउनु पर्ने बाध्यताको अन्त्य हुन्छ।’ तालिम लगत्तै सीप परीक्षण गरिने छ।
सीप परीक्षण शुल्क १ हजार ९ सय ९० निर्धारण गरिएको छ। सीप परीक्षणमा उत्तीर्ण हुनेहरूको सीप परीक्षण शुल्क वैदेशिक रोजगार बोर्डले शोधभर्ना (फिर्ता) गर्दछ र उनीहरूलाई प्रमाण पत्र समेत प्रदान गरिन्छ। तालिम लिई दक्षता भएका श्रमिकहरूले देशमै वा वैदेशिक रोजगारीमा जाँदा पनि आफ्नो सीप अनुसारको काम पाउने हुँदा यसबाट वैदेशिक रोजगारी सुरक्षित, व्यवस्थित तथा मर्यादित हुन सहयोग पुग्ने विश्वास बोर्डले लिएको छ।
यस्तो नि:शुल्क बोर्डले निश्चित गरिएको संख्या नपुगेसम्म प्रत्येक महिना सञ्चालन गरिने बताइएको छ। कार्तिक महिनाको तालिम सञ्चालनका लागि यसअघि बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीले सूचना जारी गरेको थियो। यस किसिमको नि:शुल्क तालिम लिन इच्छुक व्यक्तिले सूचना जारी भएको बेला तोकिएको समयभित्र तालिमका लागि आवेदन दिनु पर्दछ।
आवेदकहरुबाट महिला, दलित, जनजाति, पिछडिएको वर्ग, वैदेशिक रोजगारीमा जान इच्छुक, वैदेशिक रोजगारीमा संलग्न व्यक्तिका सन्तती तथा वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई प्राथमिकतामा राखिने बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए। ७ किसिमका निःशुल्क तालिम वैदेशिक रोजगारीका लागि धेरै डिमाण्ड हुने ७ वटा काममा पहिलो चरणको तालिम प्रदान गरिने छ।
इलेक्ट्रिसियन, प्लम्बर, असिस्टेन्ट, सटरिङ, डकर्मी, स्टिल पिक्सचर र एसिस्टेन्ट स्कापफोल्डर गरी ७ किसिमका कामका लागि तालिम प्रदान गरिने उल्लेख गरिएको छ। खाडीलगायत मुलुकबाट यस्तै प्रकृतिका कामको डिमाण्ड बढी आउने हुँदा सीप प्रदानका लागि यिनै काम प्राथमिकतामा राखिएको छ।
सीप नहुँदा श्रमिकहरूले पारिश्रमिक कम पाउने लगायत विभिन्न किसिमका समस्या झेल्न बाध्य छन्। यस्ता समस्या न्यूनिकरणका लागि वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत् श्रमिकहरूलाई नि:शुल्क तालिम प्रदान गर्न लागेको हो।
कुन तालिमका लागि शैक्षिक योग्यता कति?
छुट्टाछुट्टै विद्याको तालिमका लागि छुट्टाछुट्टै शैक्षिक योग्यता निर्धारण गरिएको छ। इलेक्ट्रिसियन सहायकको तालिम लिन इच्छुक व्यक्तिले १० कक्षा उत्तीर्ण गरेको हुनुपर्दछ। प्लम्बर सहायक तथा असिस्टेन्ट वेल्डरले ८ कक्षा उत्तीर्ण गरेको हुनुपर्दछ।
सटरिङ कार्पेट्री, डकर्मी, स्टिल फिक्सचर, एसिस्टेन्ट स्कापफोल्डरको तालिमका लागि साक्षर (अक्षर चिन्न सक्ने) हुनुपर्दछ। नेपालबाट प्रत्येक महिना ४० हजारभन्दा बढी युवाहरू रोजगारीका लागि खाडी जाने गरेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ। जसमा पनि अदक्ष श्रमिकहरुको संख्या निकै ठूलो छ।
वैदेशिक रोजगारीमा संलग्न अदक्ष श्रमिकहरु नै सबैभन्दा बढी समस्यामा पर्ने गरेको विभिन्न अध्ययनले देखाएको छ। अदक्ष श्रमिकहरु सस्तो मूल्यमा कठिन परिश्रम गर्न बाध्य समेत हुने गरेको पाइएको छ। त्यस्तै आफूसँग सीप नहुँदा कार्यस्थल दुर्घटनामा पर्ने, कामबाट निकालिने लगायतका समस्या भोग्न नेपाली श्रमिकहरु बाध्य छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।