भैरहवा- सिमेन्ट उत्पादनका लागि आवश्यक कच्चा पदार्थ 'क्लिंकर' उत्पादनमा नेपाल आत्मनिर्भर बनेको छ। क्लिंकर उत्पादनमा आत्मनिर्भर बनेपछि चालु आर्थिक वर्ष २०७६/७७ मा भारतबाट क्लिंकर आयात पूर्णरुपमा रोकिएसँगै नेपाल क्लिंकरमा आत्मनिर्भर बनेको हो।
एक दशक अघिसम्म मुलुकका दुई सरकारीबाहेक निजी क्षेत्रबाट सञ्चालित सबै सिमेन्ट उद्योग भारतबाट आयातित क्लिंकरमा निर्भर थिए। तर, चालु आर्थिक वर्षको सुरुदेखि नै सिमेन्ट उद्योगका लागि मुलुकमा उत्पादित क्लिंकर पर्याप्त रहेको रुपन्देहीका उद्योगीहरुले बताएका छन्।
'चालु आवदेखि क्लिंकरमा मुलुक आत्मनिर्भर भएको छ,' नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा उद्योगी राजेश अग्रवालले भने, 'अहिले क्लिंकर उत्पादनका साथै ठूला सिमेन्ट उद्योग स्थापना हुने क्रम बढ्न थालेपछि परनिर्भरता हटेको हो।'
अग्रवालका अनुसार हाल वार्षिक ७० लाख टन क्लिंकर खपत हुने गर्छ। ५ वर्षअघि सम्म कूल खपतको झन्डै ९० प्रतिशत कच्चा पदार्थ भारतबाट आयात हुने गर्थ्यो। पछिल्लो वर्ष यसको आयात घट्दै जाँदा चालु आर्थिक वर्षमा आयात पूर्णरुपमा रोकिएको हो।
शुभश्री अग्नि सिमेन्टका सञ्चालक राजकुमार पोखरेलले स्वदेशमा प्रशस्त चुनढुंगाको खानी भएको र यसको सदुपयोग गरिएपछि क्लिंकरमा मुलुक आत्मनिर्भर भएको बताए।
नेपाल अम्बुजा सिमेन्ट उद्योगका महाप्रबन्धक राजकुमार गुप्ताले पनि यसमा सहमति जनाए। 'ठूलो परिमाणमा क्लिंकरसहित सिमेन्ट उत्पादन गर्ने उद्योग सञ्चालनमा आएकाले क्लिंकरमा मुलुक आत्मनिर्भर भएको छ,' उनले भने।
भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत कलिराम पौडेलका अनुसार चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा क्लिंकर आयात भएको छैन। आर्थिक वर्ष २०७३/७४ मा करिब ४० प्रतिशत र आर्थिक वर्ष २०७४/०७५ मा करिब ३० प्रतिशत क्लिंकर आयात भैरहवा भन्सारबाट भएको थियो। गत आर्थिक वर्ष २०७५/०७६ मा क्लिंकर आयात १५ प्रतिशतमा झरेको थियो।
यस अवधिमा ठूलो परिमाणमा क्लिंकरसहित सिमेन्ट उत्पादन गर्ने उद्योग सञ्चालनमा आएकाले आयात बन्द भएको उद्योगी अग्रवालको भनाइ छ। यहाँ उत्पादन भएको क्लिंकरका कारण गत वर्ष ३५ अर्ब रुपैयाँ बराबरको भारतीय क्लिंकरको आयात घटेको थियो। उद्योगीहरुका अनुसार अब ६५ अर्ब रुपैयाँ बराबरको क्लिंकर आयात रोकिनेछ।
चुनढुंगा खानीको सदुपयोगपछि क्लिंकर उत्पादन बढ्यो
चुरे पहाडमा क्लिंकर उत्पादनका लागि आवश्यक चुनढुंगा खानी प्रशस्त मात्रामा छन्। तिनको सदुपयोग हुन थालेपछि यहाँ उत्पादन बढेको हो। नेपालका अधिकांश क्लिंकर सहितका ठूला सिमेन्ट उद्योग चुरे आसपास स्थापना भइरहेका छन्।
विसं २०३१ फागुनमा क्लिंकरसहित सिमेन्ट उत्पादन गर्ने हिमाल सिमेन्ट उद्योग २०५८ देखि बन्द छ। २०४२ बाट उत्पादन सुरु गरेको हेटौंडा सिमेन्ट उद्योग र २०४९ देखि उत्पादन सुरु गरेको उदयपुर सिमेन्ट उद्योग हाल सरकारी लगानीका क्लिंकरसहित सिमेन्ट उत्पादन गर्ने उद्योग हुन्।
२०६८ देखि क्लिंकरसहित उत्पादन सुरु गरेको अर्घाखाँची सिमेन्ट निजी लगानीको पहिलो ठूलो सिमेन्ट उद्योग हो। अहिले दाङको तुलसीपुरमा सोनापुर, घोराही, शुभश्री अग्नि सिमेन्ट सञ्चालनमा छन्। त्यसैगरी नवलपरासीमा ह्वाङ्सी शिवम्, सर्वोत्तम, जनकपुरमा कसमस, सर्लाहीमा मारुती सिमेन्ट उद्योग सञ्चालनमा छन्। आफूले उत्पादन गरेका क्लिंकर यिनले अन्य उद्योगलाई समेत बिक्री गर्दै आएका छन्।
दुई वर्ष अघिसम्म वार्षिक ४० लाख टन क्लिंकर उत्पादन हुँदै आएकोमा अहिले भने त्यो बढेर वार्षिक ७० लाख टन पुगेको उद्योगीहरुले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।