काठमाडौं- पछिल्लो समय नेपाली पुँजी बजार दिनप्रतिदिन घटिरहँदा बैंकिङ र वित्तीय क्षेत्रमा चासो राख्ने व्यक्तिहरुमा चिन्ता छाएको छ। पुँजी बजार नियामकले अधिकारको प्रयोग गरेर कर्तव्यमा ध्यान नदिँदा बजारमा नकारात्मक असर देखिएको भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका हुन्।
यसरी पुँजी बजारमा नकारात्मक असर पर्नुमा नियामक निकाय नै दोषी रहेको बताउँछन्, नेपाल इन्भेष्ट फोरमका उपाध्यक्ष छोटेलाल रौनियार। 'पुँजी बजारमा एकाएक जुन किसिमले सेयरहरु सूचीकृत भए, त्यसलाई उचित किसिमले व्यवस्थापन गर्न नसक्दा बजारमा असर देखिएको हो,' उनले भने।
नियामक निकायहरुले अधिकारको प्रयोग गरेर बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पुँजी वृद्धि गरिदिएकाले बजारमा हकप्रद, बोनस, एफपिओको बाढी आएर सेयर सूचीकृत संख्या बढेको उनी बताउँछन्। 'संख्या बढेसँगै बिक्री चाप बढ्यो तर, किन्नेको संख्या बढेन। जसका कारण बजारमा नकारात्मक असर परेको छ,’ रौनियारले भने।
नियामकले जुन रुपले अधिकारको प्रयोग गरेर वित्तीय संस्थाको पुँजी वृद्धि योजना ल्याएको थियो, त्यसरी नै कर्तव्यलाई मनन गरेर वाणिज्य बैंकहरुलाई सेयर दलाल अनुमति (ब्रोकर लाइसेन्स) दिएर देशभरका ७७ वटै जिल्लामा पुँजी बजारलाई विस्तार गरेको भए अहिले बजारमा आपूर्तिभन्दा मागको संख्यामा वृद्धि भई बजारमा सकारात्मक प्रभाव पर्ने उपाध्यक्ष रौनियारले बताए।
आइतबार दोहोरो अंकले घट्यो बजार
साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक १२ दशमलव २५ अंकले घटेर १ हजार ३ सय ७४ दशमलव ७३ अंकको बिन्दुमा रोकिएको छ।
आइतबार परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ। यस दिन १ सय ४६ कम्पनीको २९ करोड १८ लाख १७ हजार १ सय ८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। जबकि अघिल्लो साताको अन्तिम कारोबार बिहीबार ४२ करोड ५० लाख ७ हजार ९ सय ४५ रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो।
आइतबार कारोबारमा आएको होटल समूह बाहेक अन्य समूहमा गिरावट आएको छ। यस दिन होटल समूह १ दशमलब ७१ अंकले बढेको छ।
यता आइतबार बिमा समूहमा ४५ दशमलब २७ अंकले गिरावट आएको छ। त्यस्तै, जलविद्युत् समूहमा १५ दशमलब ६७ अंकको गिरावट आएको छ। यस दिन बैंकिङ समूहमा १३ दशमलव ६५ अंकले घटेको छ।
आइतबार राष्ट्रिय बिमा कम्पनीको ‘प्रमोटर’ सेयरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ५ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, राष्ट्रिय बिमा कम्पनीको ३ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
यस दिन सूर्या लाइफका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। कम्पनीको सेयर मूल्य ३५ रुपैयाँ अर्थात् ४ दशमलव ६ प्रतिशतले गिरावट आएको छ। त्यस्तै, तारा गाउँ रिजेन्सीको सेयर मूल्य प्रतिकित्ता ११ रुपैयाँ अर्थात् ३ दशमलब ९२ प्रतिशतले घटेको छ।
आइतबार कमाउने १० कम्पनी :

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।