काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि अफ्रिकामा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) का शाखाहरूको पहलमा २ करोड ११ लाख २३ हजार रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको छ।
अफ्रिकामा रहेका नेपाली समुदाय, नेपालका शुभचिन्तक तथा विभिन्न व्यावसायिक प्रतिष्ठानबाट उक्त सहयोग जुटाइएको हो। नगद सहयोगबाहेक ३५ लाख रुपैयाँभन्दा बढी मूल्यका राहत सामग्रीसमेत प्रभावित क्षेत्रमा वितरण गरिएको छ।
अभियानअन्तर्गत नाइजेरियाबाट ७७ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो। नाइजेरियाको औद्योगिक कम्पनी स्टर्लिङ आयल एक्सप्लोरेसन एन्ड इनर्जी प्रोडक्सन कम्पनीले पनि ६१ हजार २३६ अमेरिकी डलर अर्थात् करिब ९३ लाख रुपैयाँ सहयोग गरेको छ। त्यस्तै, एनआरएनए घानाले ३ लाख रुपैयाँ उपलब्ध गराएको छ।
यसैगरी, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, तान्जानिया, दक्षिण अफ्रिका, केन्या र बोत्स्वानाबाट पनि सहयोग जुटेको छ।
एनआरएनए युगान्डाले ३५ लाख रुपैयाँभन्दा बढी मूल्यका टेन्ट, ग्यास सिलिन्डर र चुल्हो प्रभावित परिवारलाई वितरण गरेको छ। अफ्रिकाका विभिन्न देशमा रहेका नेपाली समुदायले थप सहयोग संकलन गर्ने क्रम जारी राखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।