लमजुङ- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लमजुङस्थित ७० मेगावाट क्षमताको मध्य मर्स्याङ्दी जलविद्युत केन्द्रको मर्मत कार्य चाँडै पूरा गर्न निर्देशन दिएका छन्। बाँधको देब्रेतर्फको क्षेत्रमा भूक्षयलाई रोक्न राखिएको संरचनाको मर्मत थालिएको हो।
पानीले क्षति पुगेको ठाउँमा थप क्षति हुनबाट रोक्न ‘प्रोटेक्सन वाल’ लगाउने काम धमाधम भइरहेको छ। यो काम गर्नका लागि दैनिक ४ सय मजदुर परिचालित रहेको केन्द्रले जनाएको छ।
मर्मत गर्नुपर्ने भएकाले बिहीबार रातिदेखि केन्द्रबाट विद्युत उत्पादन बन्द छ। केन्द्रले मर्मतको काम एक सातामा सम्पन्न गर्ने जनाएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र उपकार्यकारी निर्देशक हरराज न्यौपानले शनिबार केन्द्रको स्थलगत निरीक्षण गरी तोकिएकै समयमा मर्मतको काम सक्न निर्देशन दिएका हुन्।
कार्यकारी निर्देशक घिसिङले विद्युतको माग बढी हुने साँझ र विहान (पिकआवर) ७० मेगावाट विद्युत उत्पादन हुने मध्य मर्स्याङ्दी बन्द हुँदासमेत आमउपभोक्तालाई लोडसेडिङ गर्नु नपरेको बताए।
‘वैकल्पिक व्यवस्थाका रुपमा कुलेखानी चलाएर विद्युत आपूर्ति गरिरहेका छौं, मर्मतको काममा ढिलाई गर्नु भयो भने कुलेखानीको जलाशयको पानी घट्ने हुँदा विद्युत व्यवस्थापनका लागि चाप पर्छ’, घिसिङले केन्द्र व्यवस्थापन र ठेकेदारलाई निर्देशन दिँदै भने, ‘एक दिनअघि सकिदिनु भयो भने धेरै काम गर्छ, यसको ठूलो भूमिका रहन्छ, त्यसैले काम छिट्टो गर्नुहोस्, तोकिएकै समयमा काम सक्नुहोस्।’
यसैगरी, विद्युत गृहमा रहेको एउटा युनिटको मर्मत पनि फागुन ६ बाट भइरहेको छ। विद्युत गृहमा ३५-३५ मेगावाटका दुई युनिट छन्। केन्द्र प्रमुख पशुपतिराज गौतमका अनुसार, २३ फागुनभित्र दुवै युनिट सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ।
केन्द्रको जलाशयमा थुप्रिएको बालुवा निकाल्ने काम पनि धमाधम भइरहेको छ। जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र बेसीसहर नगरपालिकासँग समन्वय गरी केन्द्रले बोलकबोलमार्फत बालुवा निकाल्ने ठेक्का दिएको छ। गौतमले बालुवाको बिक्रीबाट करिब १८ लाख रुपैयाँ आम्दानी हुने जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।