ललितपुर- नेपाल बहुद्देश्यीय केन्द्रीय सहकारी संघको चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा चुक्ता पुँजी १ करोड ६२ लाख ११ हजार रुपैयाँ रहेको छ। संघले अघिल्लो वर्षको तुलनामा चुक्त पुँजी ३९ दशमलव ५ प्रतिशतले बढाएको संघका अध्यक्ष सुरेन्द्र भण्डारीले कम्पनीको पाचौं वार्षिक साधारणसभामा बताए।
कार्यक्रममा अध्यक्ष भण्डारीले प्रस्तावित सहकारी नियमावलीको मस्यौदा समेत संघहरुको परामर्शबिना पारित गराउने प्रयास भइरहेकाले उक्त नियमावलीलाई सहकारीमैत्री बनाउन सहकारी संघहरुको विशेष भूमिका अपरिहार्य रहेको बताए। उनले संस्था सञ्चालन गर्ने व्यक्तिहरुको कुशल व्यवस्थापनको अभाव, सम्बन्धित निकायको विभिन्न किसिमका कमीकमजोरीका कारण सहकारी संस्थाहरूमा समस्या सिर्जना भएको चर्चा गरे।
साधारणसभाको उद्घाटन गर्दै अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसिए) का सदस्य एवं राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष ओमदेवी मल्लले देशको आर्थिक विकासमा सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताइन्। उनले नयाँ सहकारी ऐन प्रयोगमा आइसकेकोले सबै बहुउद्देश्यीय सहकारी संस्थाहरुले ऐनलाई परिपालना गर्दै संस्थालाई उद्देश्यमूलक तरिकाले व्यबसायमा सहभागी गराउँदै लानुपर्ने र सहकारी अभियानलाई संकुचित गराउने विषहरुमाथि संघले आवश्यक पहलकदमी लिनुपर्ने सुझावसमेत दिइन्।
संघले चालु आर्थिक वर्षको ६ महिनामा कुल निक्षेप १६ करोड ४७ लाख ३७ हजार २ सय ८५ रुपैयाँ संकलन गरेको छ भने ८ करोड २१ लाख २० हजार ८ सय १७ रुपैयाँ कर्जा लगानी गरेको छ। त्यसैगरी संघको कुल सम्पत्ति ४८ दशमलव ३६ प्रतिशतले वृद्धि गरी १७ करोड ५१ लाख २४ हजार ४ सय ३३ रुपैयाँ कमाएको छ।
संघले कुल ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा ६ दशमलव २ प्रतिशतले घटेर १ करोड १२ लाख ५० हजार ३ सय ९ रुपैयाँ कमाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।