काठमाडौं- व्यवसायी अजेयराज सुमार्गीको राष्ट्र बैंकमा रोक्का रहेको रकम खुल्ला गराउन माग गर्दै हालेको रिटको दोस्रो सुनुवाइ आइतबार सर्वोच्चमा हुँदैछ।
आइतबार सरकारी पक्षले समेत रकम रोक्ने बारेमा आफ्नो धारणा राख्नेछ। नेपाल राष्ट्र बैंक, अर्थ, उद्योग र प्रधानमन्त्री कार्यालयको तर्फबाट सरकारी वकिलको कार्यालयले मुद्दाको प्रतिरक्षा गर्नेछ।
नेपाल स्याटलाइट टेकिलमका तर्फबाट दायर मुद्दा न्यायाधीशद्वय तेजबहादुर केसी र डम्बरबहादुर शाहीको इजलाशको पहिलो सूचीमा पेशी तोकिएको छ।
सुमार्गीले एकल इजलाशको आदेशकै आधारमा रकम राष्ट्र बैंकबाट नेपाल इन्भेस्टमेन्ट बैंकको खातामा सारिसकेका छन्।
सर्वोच्च अदालतको एकल इजलाशबाट माघ २३ गते रकम रोक्का राख्ने निर्णय गैरकानुनी भएकाले नरोक्न अन्तरिम आदेश जारी भएको थियो। रोक्का गरेर राखेको रकम चाहेको बेला निकाल्न दिन सर्वोच्चले अन्तरिम आदेश जारी गरेको थियो।
न्यायाधीश तेजबहादुर केसीको एकल इजलाशले रकम विदेश लैजान नपाउने र सम्पत्ति शुद्धीकरण लगायतका मुद्दामा असर नपर्नेगरी निवेदकले चाहेको समयमा पैसा निकाल्न दिन आदेश गरेको थियो। पैसा रोक्ने कानुनी आधार र कारण नदेखिएको भन्दै सर्वोच्चले यस्तो आदेश जारी गरेको हो।
विदेशबाट ल्याउन लागेको करिब ४ अर्ब रुपैयाँ शंकास्पद भएको भन्दै नेपाल राष्ट्र बैंकले उक्त रकम रोक्का राखेको थियो।
सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि फागुन २ गते बोलाए पनि उक्त मितिमा सुनुवाइ हुन नसकेपछि आजका लागि पेशी तोकिएको हो।
नेपाल स्याटलाइट टेलिकम कम्पनी प्रालिका तर्फबाट सुवासचन्द्र पौडेलले रकम निकासा माग गर्दै रिट दर्ता गराएका थिए।
सन् २०१० जनवरीमा साइप्रसबाट नेपाल इन्भेस्टमेन्ट बैंकको खातामा आएको २ करोड १३ लाख अमेरिकी डलर रोकिएको थियो। उद्योग विभागले लगानीको स्रोत नखुलेको भन्दै २०६९ चैत २८ गते रोक्का गर्न भन्दै राष्ट्र बैंकलाई पत्र लेखेको थियो। सोही पत्र अनुसार बैंकले बाँकी निकासा रोक्का गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।