रुपन्देही- भैरहवामा पहिलो पटक खाद्य मेला सुरु भएको छ। ‘परम्परागत पोषिलो एवं स्थानीय खाद्य पदार्थको प्रवर्द्धनन गरौं, असल पोषणका लागि खाने बानी सुधार गरौं’ भन्ने नाराका साथ खाद्य मेला शुक्रबार सुरु गरिएको हो।
परम्परागत र संस्कृति अनुसार जोडिएका पोषणयुक्त खाद्य वस्तुको प्रचारप्रसार र उपभोगको बारेमा जानकारी दिने उद्देश्यका साथ क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको आयोजनामा खाद्य मेला सुरु भएको हो।
पर्सिसम्म चल्ने मेलामा विभिन्न जातजातिका परम्परागत परिकार, विभिन्न सङ्घसंस्थाका जानकारीमूलक तथा विभिन्न उद्योगबाट उत्पादित खाद्य वस्तु बिक्री वितरणका लागि राखिएको छ। बिहान १० देखि साँझ ७ बजेसम्म निःशुल्क अवलोकन गर्न सकिने उक्त मेलामा ७० स्टल रहेका छन्।
मेला अवलोकनमा आएका मध्ये अधिकांशले अर्गानिक कोदोको पिठो, फापरको पिठो, मकै, मकैको आटो, स्याउको सुकुटि, अष्ट्रिचका परिकार, च्याउका परिकार, भिर मौरीको मह, खुदो, गुन्द्रुक, सिस्नोको धुलो लगायत अचार र खाद्यन्नका परिकारमा रुचि देखाएका थिए। मेलामा थारु समुदाय र मगर समुदायको संस्कारसँग जोडीएका खाद्य परिकार ढिक्रि,
घोँगी, खरिया, सेलरोटी, बटुक, च्याउ केराका परिकार लगायतका पोषिला खानेकुराका साथै समुदायको सस्कृति झल्कने परिकारहरु स्टलमा राखिएको छ।
उपभोक्ताहरुलाई पोषणयुक्त खाद्य वस्तुको प्रयोगको बारेमा जनचेतना फैलाउन खाद्य मेलाको आयोजना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले बताए।
स्थानीय स्तरमा अल्प प्रचलनमा रहेका खाद्य पदार्थको उत्पादन विविधीकरण तथा पौष्टिक महत्वका बारेमा सर्वसाधारणलाई जानकारी गराउन मेला उपयोगी हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख हस्त बहादुर राईले जानकारी दिए।
पछिल्लो समय बजारमा आएका आधुनिक र प्रशोधन गरिएका खाद्य वस्तुले परम्परागत पोषणयुक्त खाद्य वस्तुको प्रयोगलाई घटाउँदै लगेका बेला आयोजना गरिएको मेलाले आम सर्वसाधरणलाई राम्रो सन्देश दिने सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले बताए।
मेलामा विभिन्न अनुसन्धानबाट विकसित नयाँ तथा स्वदेशी खाद्य उत्पादनको प्रवर्द्धन तथा खाद्य पोषणसम्बन्धी सूचना प्राप्त गर्न सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।