काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश प्रमुखलाई पदमुक्त गरिएकाप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
उनले यो कार्यलाई सर्वसत्तावादतर्फ जाने कोसिस भनेका छन्।
'प्रदेश प्रमुख जस्तो गरिमामय पदलाई मनपरि ढंगले हटाउनु भनेको सरकार एकलौटी गरेर सर्वसत्तावादतर्फ जाने कोसिस हो', उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
सरकारको सिफारिसमा आइतबार बेलुकी राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटै प्रदेशमा प्रमुखलाई पदमुक्त गरेकी छिन्।
आज पदमुक्त गरिएका प्रदेश प्रमुखहरुलाई कांग्रेस नेतृत्वको मन्त्रिपरिषद्को २०७४ माघ ३ गते नियुक्त गरेको थियो। सरकारले एमाले–माओवादीसँग सहमति जुटाइ प्रदेश प्रमुखको टुंगो लगाउने प्रयास गरेको थियो। तर उनीहरुले चाहना नदेखाएपछि कांग्रेस एक्लै अघि बढेको थियो।
उसले अन्य दुई दल राष्ट्रिय जनता पार्टी (राजपा) र तत्कालीन संघीय समाजवादी फोरमसँग सहमति गरेर प्रदेश प्रमुखको टुंगो लगाएको थियो। तत्कालीन सहमतिअनुसार प्रदेश २ मा राजपा र प्रदेश ५ मा फोरमले पाएको थियो भने बाँकी प्रदेशमा कांग्रेसका तर्फबाट प्रदेश प्रमुख नियुक्त गरिएको थियो।
त्यतिबेलासम्म चुनावबाट पहिलो पार्टी बनिसकेको तत्कालीन एमाले र उसँगको गठबन्धनमा रहेको माओवादी केन्द्रले सरकारको नियुक्तिप्रति त्यतिबेला पनि असन्तुष्टि जनाएका थिए। ती पार्टीका कतिपय नेताहरुले तत्कालीन सरकारको निर्णयलाई आफ्नो सरकार बनेपछि उल्टाउने चेतावनी दिएका थिए। तर सरकार गठन भएको झन्डै २१ महिनासम्म निर्णय परिवर्तन गरिएको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।