काठमाडौं- एसियाली विकास बैंक (एडिबी) ले नेपालमा सन् २०१७को अन्त्यसम्ममा करिब २ खर्ब ४० अर्ब रुपैयाँ लगानी गरेको जनाएको छ। एडिबीले ७ क्षेत्रका ३५ अयोजनामा उक्त रकम लगानी गरेको हो।
एडिबीले शुक्रबार सार्वजनिक गरेको ‘नेपाल पोर्टफोलियो पर्फमेन्स रिभ्यु–२०१७’ मा ३५ आयोजनामध्ये १२ आयोजना सम्पन्न हुने चरणमा, १८ आयोजना कार्यान्वयनको चरणमा र ५ आयोजना शुरुवाती चरणमा रहेको उल्लेख छ।
एडिबीले जनाएअनुसार कार्यान्वयनका चरणमा रहेका १८ आयोजनामा एडिबीले १ खर्ब ४७ अर्ब रुपैयाँ लगानी छ। यस्तै, शुरुवाती चरणमा रहेका ५ आयोजनामा ६२ अर्ब ३० करोड रुपैयाँ लगानी छ भने सम्पन्न हुने अन्तिम चरणमा रहेका १२ आयोजनामा ३३ अर्ब ७० करोड रुपैयाँ लागनी भएको छ।
एडिबीले सार्वजनिक गरेको उक्त तथ्यांक अनुसार सबैभन्दा धेरै लगानी शहरी तथा खानेपानीका क्षेत्रमा छ। उक्त क्षेत्रमा एडिबीले ३१ प्रतिशत अर्थात् ७६ अर्ब १० करोड रुपैयाँ लगानी छ।
त्यस्तै, ऊर्जा क्षेत्रमा २५ प्रतिशत लगानी गरेको छ। यातायात क्षेत्रमा १९, पुनःनिमार्णमा ८, शिक्षामा ६, कृषि तथा प्राकृतिक क्षेत्रमा ९ र विविध क्षेत्रमा २ प्रतिशत लगानी गरेको छ।
पछिल्ला वर्षमा आयोजनाको कामले गति लिएको तर त्यसको प्रगति अपेक्षित नभएको एडिबीका उप प्रबन्ध निर्देशक दिवेश शरणले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।