काठमाडौं- बंगलादेशका राष्ट्रपति अब्दुल हमिद कात्तिक अन्तिम साता नेपाल आउने भएका छन्।
दुवै देशले भ्रमणको मिति औपचारिक रुपमा सार्वजनिक नगरेका भए पनि राष्ट्रपति हमिद ४ दिने नेपाल भ्रमणका लागि कात्तिक २५ गते नेपाल आउन लागेका हुन्।
राष्ट्रपति हमिदको भ्रमणबारे ९ कात्तिकमा आयोजित पत्रकार सम्मेलनमा बंगलादेशका विदेश सचिव साहिदुल हगले जानकारी दिएको बंगलादेशको अंग्रेजी दैनिक ‘द डेली स्टार’ले उल्लेख गरेको छ।
अजरबैजानको बाकुमा सम्पन्न असंलग्न अभियानको १८औं शिखर सम्मेलनमा सहभागिता जनाएपछि गरिएको पत्रकार सम्मेलनमा हमिदले आफ्ना राष्ट्रपतिले नेपाल भ्रमण गर्न लागेको जानकारी दिएका थिए।
पिटिए र मोटर भेइकलमा सम्झौताको तयारी
भ्रमणका क्रममा दुई देशबीच 'मोटर भेइकल' र ऊर्जा व्यापार सम्झौता (पिटिए) गर्ने तयारी छ।
बाकुमा सम्पन्न असंलग्न अभियानको १८औं शिखर सम्मेलनको साइडलाइनमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटवार्तामा बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले राष्ट्रपतिको भ्रमणका क्रममा पिटिए सम्झौता टुंग्याउन आग्रह गरेकी थिइन्।
हमिदको नेपाल भ्रमणका क्रममा दुई पक्षबीच बिबपआइएन (बंगलादेश, भुटान, भारत र नेपाल) बीच हुने भनिएको मोटर भेइकल सम्झौता र ऊर्जा व्यापार सम्झौता (पिटिए) हुने सम्भावना छ।
सचिव हगले राष्ट्रपति हमिदको नेपाल भ्रमणका दौरान ती विषयमा सकारात्मक छलफल हुने बताएका छन्। उनले बिबिआइएनअन्तर्गत रहेर हुने भनिएको मोटर भेइकल सम्झौताबाट भुटान पछि हटे पनि बाँकी तीन देश मिलेर अघि बढ्न सकिने बताएका थिए।
नेपाल-भारत-भुटान-बंगलादेशबीच सीधा बस सेवा सञ्चालन गर्ने भनिए पनि भुटानले नमानेकाले हालसम्म उक्त काम अघि बढ्न सकेको छैन। अहिले नेपाल र भारतबीच मात्र सिधा बस सेवा सञ्चालनमा छ।
भेटका क्रममा दुवै प्रधानमन्त्रीबीच बिबिआइएनअन्तर्गत हुने भनिएको मोटर भेइकल सम्झौतालाई पनि अघि बढाउने सहमति भएको थियो।
बिबिआइएनअन्तर्गत नेपाल-भारत-भुटान-बंगलादेशबीच सीधा बस सेवा सञ्चालन गर्ने भनिए पनि भुटान अहिलेसम्म त्यसमा सकरात्मक हुन नसकेकाले त्यो अघि बढेको छैन।
भुटान सहमत नभए पनि अब बंगलादेश, भारत र नेपाल मोटर भेइकल सम्झौता गरेर अघि बढ्ने तयारीमा छन्। यसलाई बंलादेशले जोड दिँदै आएको छ।
केही समयअघि भारत भ्रमणका क्रममा पनि बंगलादेशी प्रधानमन्त्रीले यसबारे समकक्षी नरेन्द्र मोदीसँग पनि छलफल गरेकी थिइन्। हसिना र मोदी पनि त्यसमा सम्झौता गरेर कार्यन्वयनमा जान सहमत भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।