काठमाडौं- आगामी मंसिर १४ हुने उपनिर्वाचनमा कास्की-२ बाट सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विद्या भट्टराईले उम्मेदवार बनाउने भएको छ।
गत फागुन १५ गते ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा तत्कालीन पर्यटनमन्त्रीसमेत रहेका रवीन्द्र अधिकारीको निधन भएपछि रिक्त रहेको सो स्थानमा उनकै पत्नी विद्यालाई उम्मेद्वार बनाउने निर्णय नेकपाले गरेको हो।
शनिबार नेकपा सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो।
बैठकमा उपचुनावका लागि क्षेत्र, जिल्ला र प्रदेशबाट आएका नामहरुबारे छलफल भएको बताइएको छ।
नेपाल लाइभसँग कुरा गर्दै नेकपाका एक नेताले नाम उल्लेख नगर्ने सर्तमा कास्की २ मा विद्या भट्टराईलाई उम्मेद्वार बनाउने निर्णय गरेको बताए। तर यसको औपचारिक घोषणा भने हुन बाँकी छ।
कास्की जिल्ला कमिटीले सर्वसम्मत रुपमा उम्मेदवारका लागि विद्या नाम सिफरिस गरेको थियो। तर गण्डकी प्रदेश कमिटीले सोमनाथ अधिकारी प्यासी र राजकाजी गुरुङ करणको नाम थपेर केन्द्रमा पठाएको थियो।
भट्टराई हाल त्रिभुवन विश्वविद्यालयमामा उपप्राध्यापक पदमा कार्यरत छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।