काठमाडौं- नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा आज हुने छलफलनबाट कास्की-२ को उप-निर्वाचनका उम्मेदवारको सहमति गर्ने भएका छन्।
कांग्रेस सभापति देउवा तनहुँमा हुने एक कार्यक्रमका लागि पोखरा हुँदै पुग्दैछन्। तनहुँ कांग्रेसका पुराना नेता गोवर्द्धन शर्माका बारेमा लेखिएको पुस्तक विमोचनका लागि तनहुँ जाने देउवाको कार्यतालिका बनेको छ।
कांग्रेसका स्थानीय नेता रामचन्द्र पोखरेलले उक्त पुस्तक लेखेका हुन्। पुस्तक विमोचन दमौलीमा हुनेछ। पुस्तक विमोचन पश्चात् देउवाले वरिष्ठ नेता पौडेलसँग कास्की-२ को उम्मेदवारका बारेमा छलफल गर्ने बताइएको छ।
तनहुँ पुग्नुअघि पोखरामा देउवाले कास्की जिल्ला कार्यसमितिका नेता र आकांक्षी उम्मेदवारसँग छलफल गर्ने बताइएको छ। दुई नेताको छलफलपछि बनेको सहमति अनुरुपनै आइतबारको पदाधिकारी बैठकले उम्मेदवारहरूको नाम सार्वजनिक गर्ने बताइएको छ।
शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उम्मेदवार छनोट गर्ने अधिकार पदाधिकारीलाई दिएपछि सभापति देउवाले आइतबार ३ बजेका लागि बैठक बोलाएका छन्। पदाधिकारी बैठकमा नेता पौडेल र कृष्ण प्रसाद सिटौला पनि सहभागी हुनेछन्।
मंसिर १४ मा हुने उपनिर्वाचनका लागि कास्की जिल्ला कार्यसमितिले १६ जनाको नाम केन्द्रमा सिफारिस गरेको थियो। केन्द्रमा आएका नाममा खेमराज पौडल, महादेव गुरुङ, सोभियतबहादुर अधिकारी, निर्मल कर्माचार्य, देवराज चालिसे, माधव बास्तोला छन्।
उपनिर्वाचनका लागि चार महिला पनि आकांक्षी देखिएका छन्। उम्मेदवार इच्छुक महिलामा लक्ष्मी पाण्डे, खेमकुमारी बराल, रंगिला आचार्य र विमला भण्डारी छन्।
साथै ऋषि काफ्ले, कृष्ण कार्की, वीरेन्द्रनारायण विजुक्छे, गुरु बराल, विजय आचार्य, केशव निर्दोषीको नाम पनि १६ जनामा परेको छ।
पौडेल पूर्व महासमिति सदस्य हुन्। अधिकारी २०७० को दोश्रो संविधानसभाका उम्मेदवार थिए। बास्तोला निर्वाचन हुने क्षेत्रका सभापति हुन्। विजुक्छे महाधिवेशन प्रतिनिधि हुन्।
महिलाबाट उम्मेदवारको सूचीमा रहेकी लक्ष्मी पाण्डेय जिल्ला कोषाध्यक्ष हुन्। गुरुङ पूर्व राज्यमन्त्री हुन् भने काफ्ले महासमिति सदस्य तथा तरुण दलका पूर्व केन्द्रीय सदस्य हुन्। बराल प्रदेशसभा सदस्यका उम्मेदवार थिए। विमला भण्डारी पत्रकारितामा आवद्ध छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।