काठमाडौं- उप-निर्वाचनमा उम्मेदवार तय गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठक बस्ने भएको छ।
मंसिर १४ मा हुने उप-निर्वाचनका उम्मेदवारको टुंगो लगाउन बिहान १० बजे सचिवालयको बैठक बोलाइएको छ। प्रधानमन्त्री निवासमा बस्ने सचिवालय बैठकले जिल्लाबाट आएका नामबाट उम्मेदवार टुंगो लगाउने छ।
पार्टी केन्द्रले तीन जनाको नाम सिफारिस गर्न जिल्ला कमिटीहरूलाई निर्देशन दिएको थियो। कतिपय स्थानबाट तीन जना भन्दा बढी व्यक्तिको नाम सिफारिस गरिएको छ। प्रतिनिधि सभा सदस्य रिक्त रहेको कास्की २ बाट तीन जनाको नाम केन्द्रमा पठाइएको छ।
जिल्ला कमिटीले विद्या भट्टराइको नाम सर्वसहमतिमा गरी केन्द्रमा पठाएको थियो। प्रदेश कमिटीले सोमनाथ अधिकारी ‘प्यासी’ र राजकाजी गुरुङको नाम थपेको थियो। बागलुङमा नेकपाले राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई सहयोग गर्ने भएको छ। गत निर्वाचनमा जनमोर्चाका उम्मेदवार टेक बहादुर घर्ति नेकपाको सहयोगमा निर्वाचित भएका थिए।
भक्तपुर १ ‘क’मा जिल्ला कमिटीले केन्द्रको निर्देशन विपरीत ६ जनाको नाम केन्द्रमा पठाएको छ। दाङ– ३ (ख)मा उत्तरकुमार वलीकी श्रीमती विमला वलीलाई टिकट दिने सम्भावना रहेको बताइएको छ। धरान उपमहानगरको मेयर पदमा प्रकाश राई, चोत्लुङ् लिम्बू, वेणु काफ्लेको नाम सिफारिस गरिएको छ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका,सङ्खुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिकामा अध्यक्षका लागि निर्वाचन हुँदैछ। हुम्लाको खार्पुनाथ गाउँपालिकामा उपाध्यक्ष पदका लागि उप-निर्वाचन हुँदैछ।
मंसिर १४ गते ५३ स्थानमा उपनिर्वाचन हुँदैछ। एक प्रतिनिधिसभा, तीन प्रदेशसभा, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्षसहित ४३ वडाध्यक्षको लागि उपनिर्वाचन हुन लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।