काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले उपनिर्वाचनका उम्मेदवार छनोट गर्ने अधिकार पदाधिकारीलाई दिएको छ।
शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारीलाई उम्मेदवार छनोट गर्ने अधिकार प्रत्योजन गरेको हो।
प्रतिनिधिसभा सदस्यका लागि कास्की-२ मा र प्रदेशसभा सदस्यका लागि बागलुङ, दाङ र भक्तपुरमा उपनिर्वाचन मंसिर १४ मा हुँदैछ।
उक्त स्थानका उम्मेदवार चयन आइतबारको पदाधिकारी बैठकले गर्ने जनाइएको छ।
कास्की-२ को उम्मेदवार चयनका विषयमा पार्टी सभापति शेरबहादुर देउवाले सम्बन्धित जिल्ला कार्यसमिति र आकांक्षी उम्मेदवारसँग छलफल गर्ने भएका छन्।
शनिबार पोखरा पुगेर स्थानीय नेता कार्यकर्तासँग राय लिएपछि देउवा भोलि नै तनहुँ पुग्नेछन्।
तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरी कास्की-२ को उम्मेदवारमा मोटामोटी सहमति गर्ने बताइएको छ।
दुई नेता विचको सहमति अनुसार आइतबारको पदाधिकारी बैठकले उम्मेदवारको टुंगो लगाउने छ।
शुक्रबारको बैठकले सर्वसहमतिमा चयन गरि पठाइएको धरान उपमहानगरपालिकाको मेयरका प्रत्यासी तिलक राईको नाम अनुमोदन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।