काठमाडौं- नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघमा उमेर हद विवाद पुनः सतहमा आएको छ।
विघटित संघको नयाँ नेतृत्वमा ३२ वर्ष उमेर हद लागू नगरी तदर्थ समिति बनाउने तयारी भएपछि संघको एक पक्ष विरोधमा उत्रेको छ। आठ महिनाअघि भंग गरेको संघको जिम्मेवारी पार्टी सभापति शेर बहादुर देउवाले राजीव ढुंगानालाई सुम्पन लागेका छन्।
३२ वर्ष उमेर समूह माथिबाट नेतृत्व आउने भएपछि संघको एक पक्ष केन्द्रीय कार्यालयमा नाराबाजीमा उत्रेको हो। पार्टी केन्द्रीय समितिको बैठक अघि सानेपामा जम्मा भएका विद्यार्थीहरूले नाराबाजी गरेका थिए।
बैठकमा प्रवेश गर्नु केन्द्रीय सदस्यहरूलाई उमेर हद ३२ वर्ष लागू गराउन माग गर्दै विधानको स्मरण गराएका थिए।
संघको पूर्व केन्द्रीय सदस्य नवराज त्रिपाठीको नेतृत्वमा विरोधमा उत्रिएका थिए। कार्यकर्ताले विगतमा संघको अध्यक्ष हुँदा नेताहरूले उमेर समेत स्मरण गराएका थिए। नेविसंघको दोश्रो सभापति भएका देउवाले २५ वर्षको उमेरमा नेतृत्वमा पुगेको थिए।
वर्तमानमा पार्टीको केन्द्रीय भुमिकामा पुगेका नेताहरुले ३२ वर्ष उमेर नहुँदै संघको नेतृत्व सम्हालेको विगत प्लेकार्ड मार्फत नेताहरुलाई देखाएका थिए।
पार्टी कार्यालयमा प्रवेश गर्ने क्रममा संस्थापन तर्फका नेताहरूले विद्यार्थीहरूसँग कुनै प्रतिक्रिया जनाएनन्। अर्कोतर्फ संस्थापन इतर समुहका नेताहरुले विधानको कार्यान्वयन हुन नसकेको पार्टी भित्रको समस्या सुनाए।
उपसभापति विमलेन्द्र निधिलाई रोकेर आफ्ना माग सुनाएका विद्यार्थीहरूलाई निधिले कुनै प्रतिक्रिया दिएनन्। अर्का नेता कृष्ण सिटौलाले विद्यार्थीका माग सुने। प्रतिक्रिया जनाएनन्। नेता महेश आचार्य, गोविन्द भट्टराई, कल्याण गुरुङले विधान कार्यान्वयनका पक्षमा रहेको जनाए।
दिउँसो १ बजेका लागि निर्धारित बैठक २ बजेसम्म सुरु हुन सकेको थिएन। २ बजेपछि केन्द्रीय कार्यालयमा सभापति देउवा प्रवेश गरेसँगै विद्यार्थीहरूको नाराबाजीको स्वर बढेको थियो। ‘विधान मिच्न पाइदैन’, ‘वृद्धहरुको संगठन चाहिंदैन’,‘अरु हामी जान्दैनौं,३२ वर्ष माथिको नेतृत्व मान्दैनौं’ लगायतका नारा लगाए।
३२ वर्ष उमेर समूह माथिबाट नेतृत्व ल्याए आमरण अनसन बस्ने चेतावनी समेत दिए। केन्द्रीय कार्यालयको मूलद्वारअघि देउवाको गाडी पुगेसँगै विद्यार्थीहरूले स्वर बढाए। गाडीबाट ओर्लन लागेका सभापति देउवालाई कार्यालय भित्र पस्न असहज भएपछि देउवा आक्रोशित बने।
विद्यार्थीहरुलाई बाटो खाली गर्न चेतावनी दिए। तर उनीहरूले देउवाको लागि बाटो खोलिदिएनन्। देउवा थप आक्रोशित हुँदै विद्यार्थीहरूलाई झपारे।
सुरक्षाकर्मी,पार्टी प्रवक्ता तथा अन्य नेताले घेरा हालेर देउवा भित्र पसे। भित्र पस्दै गर्दा देउवाले प्रवक्ता विश्वप्रकाश शर्मासँग विद्यार्थीको उश्रृङ्खलताप्रति रोष प्रकट गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।