काठमाडौं- संघीय संसद्की कर्मचारीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरामाथि शुक्रबार जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस सुरु हुँदैछ।
बिहीबार महराविरुद्द जबरजस्ती करणी प्रयास गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएपछि आज शुक्रबारबाट थुनछेक बहस सुरु हुने भएको हो।
सरकारी वकिलको कार्यालयले बलात्कार प्रयासमा ५ वर्ष र आफू मातहतको कर्मचारीमाथि बलात्कार प्रयास भएकाले थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैदको माग गर्दै मुद्दा दर्ता गरेको थियो।
महरालाई लागेको अभियोगमाथि उनी पक्षका वकिलहरुले बहस गर्नेछन्। बहस सकिएको अवस्थामा शुक्रबार नै छुट्न सक्ने, धरौटीमा रिहा हुने वा पुर्पक्षका लागि कारागार पठाउने भन्ने फैसला हुनेछ।
संसद् सचिवालयकी एक कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेपछि उनलाई गत असोज १९ मा पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको थियो। (फाइल तस्बिर- महरालाई अदालत लगिँदै)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।