सिन्धुपाल्चोक- उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली लडेर पनि उठ्न र हिँड्न सक्ने तागतका रहेको बताएका छन्। बिहीबार सिन्धुपाल्चोकको साँगाचोकमा भूकम्पपछि पुनर्निर्माण भएको एक विद्यालय भवन हस्तान्तरण गर्दै उपराष्ट्रपति पुनले भने, 'नेपालीहरु शोकलाई शक्तिमा बदल्न सक्ने तागत राख्दछन्, त्यसकै उदाहरण अहिले हाम्रो सामु उभिएको छ।'
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१२, साँगाचोकमा रहेको श्री जनजागृति माध्यमिक विद्यालयको भवन हस्तान्तरण गर्दै उपराष्ट्रपति पुनले भूकम्पले क्षति पुर्याएको स्थानमा यति राम्रो भवन बनेकोमा प्रशंसा गर्दै विद्यालय, विद्यार्थी र अभिभावकलाई बधाई समेत दिए।
भूकम्पले भत्किएका केही निजी आवास र सार्वजनिक भवनहरु अझै निर्माणकै क्रममा रहे पनि सबै भूकम्पपीडितहरु अर्को दसैंसम्ममा सुरक्षित आवासमा फर्किसक्ने उनले विश्वास व्यक्त गरे।
नेपाल हिल्फे वाइलिङ्ग्रिस जर्मनीको ७ करोड ५९ लाख रुपैयाँ सहयोगमा निर्माण भएको ३३ कोठे पक्की भवनमा सुविधा सम्पन्न कम्प्युटर ल्याब, विज्ञान प्रयोगशालासहित कक्षाकोठाहरु रहेको विद्यालयका प्रधानाध्यापक पदम प्रसाद पराजुलीले बताए।
प्राविधिक शिक्षातर्फ पशु विज्ञान तथा वौद्धिक अपांगता भएका विद्यार्थीलाई आवाससहित अध्यापन गराइरहेको सो विद्यालयको भवनमा भूकम्पले क्षति पुर्याएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।