काठमाडौं- आआफ्नो देशको कूटनीतिक मिसनको नेतृत्व गरेर नेपाल आएका अधिकांश राजदूतबीच सम्बन्ध औपचारिक मात्रै बढी सतहमा आउने गरेको छ।
सँधै कूटनीतिक सिमाभित्र रहनुपर्ने राजदूतले अनौपचारिक सम्बन्ध बनाए पनि सार्वजनिक रुपमा जानकारी कमै हुन्थ्यो।
तर, शक्ति राष्ट्रहरु अमेरिका र बेलायतको कूटनीतिक मिसनको नेतृत्व गरेर नेपाल आएका पछिल्ला राजदूतको बिल्कुलै अनौपचारिक सम्बन्ध बनेको छ।
औपचारिकताको घेरा तोडेर समाजिक सञ्जाल ट्विटरमा सार्वजनिक भइरहने उनीहरुको अनौपचारिक सम्बन्ध हेर्दा यसले ‘गहिरो दोस्ती’को छनक दिन्छ।
नेपाल मिसनका नेतृत्वकर्ता अमेरिकी राजदूत र्यान्डी बेरी र बेलायती राजदूत रिचार्ड मोरिसबीचको मित्रवत् अनौपचारिक सम्बन्धका लागि नेपाल भूमि उर्वर बन्न पुगेको छ।

दाउ र ‘दारु’को सम्झना
अमेरिकी राजदूतका रुपमा नेपाल आएको एक वर्ष पूरा गरेका बेरीले कार्यकाल पूरा गरेर जान लागेका मोरिसलाई बिदाई शुभकामना दिँदै आफूहरुबीचको दोस्ती सम्झिए।
२३ अक्टोबरमा बिदाइ/शुभकामना ट्विट गरेका बेरीले नेपालमा रहँदाको मित्रता सम्झिनुका साथै भविष्यका लागि पनि शुभकामना दिएका छन्।

त्यही ट्विटमा उनले आफूहरुबीच जारी ‘रग्वी विश्वकप’मा अमेरिकी र बेलायती टोलीका पक्षमा चलेको दाउ (शर्त) र दारु (बियर) पनि मिस गर्ने उल्लेख गरेका छन्।
प्रत्युत्तरमा मोरिसले पनि शुभकामनाका लागि धन्यवाद दिँदै शर्त हारेबापत नेपाली मःम खुवाएको पनि सम्झिएका छन्।
बफ मःम र बाराको बाजी
दुई राजदूतबीचको सम्बन्ध कति अनौपचारिक बनेको छ भन्ने थाहा पाउन जारी रग्वी विश्वकप खेलमाथि उनीहरुले थापेको बाजी हेर्दा हुन्छ।
उक्त विश्वकपमा आआफ्नो टिमले जित्ने दाबी गर्दै बेरी र मोरिसले मःम र बाराको बाजी राखे।
जापानमा जारी रग्वी विश्वकप २०१९ बारे ट्वीटरमा बेलायती राजदूत मोरिसलाई मेन्सन गर्दै प्रस्ताव गरेका थिए, ‘भोलिको खेलमा अमेरिकी रग्वी टोली विजयी हुन्छ भन्ने मेरो पूर्वानुमान छ। यो बाजी हार्नेले मःम र बाराको पैसा तिर्नुपर्छ।’
लगत्तै बेलायती राजदूत मोरिसले त्यो बाजी स्वीकार्य भएको बताउँदै त्यो पैसा बेरीले तिर्नुपर्ने अवस्था आउने दाबी गरे। मोरिसले ट्वीटरमा भनेका छन्, ‘त्यो बाजी खुसीसाथ स्वीकार्य छ। मलाई लाग्छ, मःमको पैसा तपाईले तिर्नुपर्ने हुन्छ।’
रग्वी विश्कपमा दुवै देशका टोली एउटै समूहमा परेका थिए। खेलको परिणाम पनि मोरिसले दाबी गरेजस्तै आयो। खेलमा अमेरिकी रग्वी टोलीले जित्न सकेन।
बाजीअनुसारै बेरीले मोरिसलाई मःम र बारा खुवाए। दुवैले त्यसको तस्बिर पनि ट्वीटरमा पोस्ट गरे। खुसी साटासाट पनि गरे।


बेलायती राजदूत मोरिस अब नेपालको कार्यकाल सकाएर जाँदै छन्, अमेरिकी राजदूत बेरी भने अझैँ केही समय नेपालमै रहने छन्।
नेपालमा बनेको उनीहरु बीचको दोस्ती यस्तै गाढा भइरहला या नरहला? यो भने समयले बताउला।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।