काठमाडौं- थाइल्यान्ड जान लागेका बेला त्रिभुवन विमानस्थलबाट फर्काइएका पूर्व माओवादीका बाल-लडाकु लेनिन बिष्टलाई फर्काउने सरकारको निर्णय गैरकानुनी भएको सर्वोच्च अदालतले ठहर गरेको छ।
न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले आज फैसला सुनाउँदै गैरकानुनी रुपमा विष्टलाई फर्काइएको ठहर गरेका हुन्।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’को ठाडो आदेशमा विष्टलाई गत २०७५ भदौ ८ मा विमानस्थलवाट फर्काइएको थियो।
सरकारको उक्त निर्णयविरुद्ध विष्टले २०७५ भदौ १४ गते सर्वाेच्चमा मुद्दा हालेका थिए। उक्त मुद्दामा फैसला सुनाउँदै सर्वोच्चले विष्टको पक्षमा रिट जारी हुने आदेश सुनाएको हो। यसअघि बिष्टलाई फर्काउनु पर्नाको पर्याप्त आधार खुलाएर जवाफ दिन प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र अध्यागमन कार्यालयको नाममा आदेश जारी भएको थियो।
अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन थाइल्यान्ड जान लागेका पूर्व माओवादीका बालसैनिक बिष्टलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएपछि गृहमन्त्री विवादमा तानिएका थिए। तत्कालीन समयमा प्रधानमन्त्री ओलीले उनीसँग स्पष्टिकरणसमेत सोधेका थिए।
उक्त घटनामा अध्यययन गर्दै मानव अधिकार आयोगले समेत सरकारको निर्णय 'व्यक्तिगत स्वतन्त्रताको हकविरुद्धको भएको' ठहर गरेको थियो। (तस्बिर- बिष्टको फेसबुकबाट)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।