काठमाडौं- गत भदौ १४ गते बैंकको सिस्टम नै ह्याक गरेर १ करोड ८७ लाख ९६ हजार ५ सय रुपैयाँ निकाल्ने कार्यमा संलग्न ८ ह्याकरहरुको उच्च अदालत पाटनको वाणिज्य इजलासमा बयान सुरु भएको छ।
प्रहरीले अनुसन्धान सकेर कैद र बिगो मागदाबी गर्दै उच्च अदालत पाटनमा अभियोगपत्र पेस गरेसँगै ५ चिनियाँ, १ फ्रान्सेली र ३ नेपाली विरुद्धको बयान सुरु भएको हो।
अभियुक्तहरुको बयान सकिएपछि अदालतले उनीहरुलाई पुर्पक्षमा पठाउने वा धरौटी तथा तारेखमा रिहा गर्ने भन्ने निर्णय गर्नेछ।
प्रहरीले फ्रान्सेली नागरिक छु लुई, चिनियाँ नागरिकहरू लिन जैनमेङ, लिओ जाइलेई, सु लायङगाङ, क्यू युनक्विङ, चेन बिनबिन र मनी एक्सचेन्जका सञ्चालक देवनाथ लामिछाने, रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दवाडीलाई ह्याकिङमा संलग्न भएको आरोप लगाउँदै अभियोगपत्र पेस गरेको छ।
अभियोग पत्रमा उनीहरुले 'बैंकिङ कसुर र सजाय ऐन २०६४' बमोजिमको कसुर गरेको उल्लेख गरिएको छ।
ऐनको दफा ५ मा उल्लेख भएको अनधिकृत रुपमा रकम निकाल्न वा भुक्तानी दिन नहुने कसुर उनीहरुले गरेको बताइएको छ।
उक्त कसुरमा कसैले पनि बैंक वा वित्तीय संस्थामा रहेको खाताबाट रकम निकाल्दा वा भुक्तानी दिँदा अनधिकृत रुपमा अन्य व्यक्तिको खाताबाट रकम निकाल्न नहुने, अनधिकृत रुपमा ग्राहकको खाताबाट रकम रकमान्तर गर्न वा नगद भुक्तानी दिन उल्लेख छ।
त्यस्तै दफा ६ मा उल्लेख भएको विद्युतीय माध्यमको दुरुपयोग वा अनधिकृत प्रयोग गरी भुक्तानी लिन वा दिन नहुने कसुर पनि उनीहरुले गरेको जनाएको छ।
यस कसुरमा कसैले पनि क्रेडिट कार्ड, डेबिट कार्ड, अटोमेटेड टेलर मेसिन (एटिएम) कार्ड वा अन्य विद्युतीय माध्यमको दुरुपयोग वा अनधिकृत प्रयोग गरी भुक्तानी लिन वा दिन नहुने उल्लेख छ।
सोही अनुसार सरकारी वकिलको कार्यालयले कैद र बिगो मागदाबी गरेको छ। कार्यालयले बिगो भराई दफा १५ को (घ) बमोजिम एक करोड रुपैयाँभन्दा बढी दश करोड रुपैयाँसम्म बिगो भए चार वर्षदेखि ६ वर्षसम्म कैद हुने सजाय उल्लेख भएकाले सोही अनुसार ६ वर्षसम्म कैदको माग गरी उच्च अदालत पाटनमा अभियोगपत्र दायर गरेको हो।
त्यस्तै प्रतिवादीहरु लामिछाने, श्रेष्ठ र दवाडीले चिनियाँ र फ्रान्सेली ह्याकरलाई अवैध रुपमा एटिएमबाट निकालेको नेपाली रकम गैरकानूनी रुपमा सटही गरी ह्याकरलाई सहयोग गरेकाले दफा १५ को (६) बमोजिक कसुर गरेको भन्दै अभियोगपत्र दायर भएको छ।
दफा १५ को (६) अनुसार बैंकिङ कसुर गर्न उद्योग गर्ने व्यक्ति वा संस्था वा त्यस्तो कसूर गर्न अप्रत्यक्ष रुपमा संलग्न वा मद्दत पुर्याउने व्यक्ति वा संस्थालाई कसुरदारलाई हुने सजायको आधा सजाय हुने उल्लेख छ।
नेपालय मनी एक्सचेञ्जका सञ्चालक राजन श्रेष्ठ र दुई चिनियाँ छु मिन र ह्वाङ ही फरार छन्। उनीहरु पक्राउ परेको अवस्थामा पुनः कानूनी कारबाही हुने प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।