काठमाडौं- कपिलवस्तुको कृष्णनगर तनावग्रस्त हुँदा एक जनाको ज्यान गएको छ। प्रहरीले चलाएको गोली लागेर भारतीय नागरिक २० वर्षिय सुरज पाण्डेको ज्यान गएको हो।
कृष्णनगर-२ कृष्णबजारमा लक्ष्मी पूजाको मूर्ति बिसर्जनको विषयलाई लिएर र हिन्दु र मुस्लिम समुदायबीच विवाद भएको थियो। विवादले तनाब उत्पन्न भएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु जारी गरेको हो। तनाबग्रस्त हुँदा प्रहरीले केही राउण्ड हवाइ फायर समेत गरेको थियो।
जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी उपरीक्षक दीप शमशेर जवराका अनुसार मृतक पाण्डे भारतको सिद्धार्थनगर बडनीका वासिन्दा हुन्। मृतकको आँखामा गोली लागेको स्थानीयले बताएका छन्।
बिहान ११ बजेदेखि जारी गरिएको गरिएको कर्फ्यु कृष्णनगर भन्सार कार्यालयदेखि उत्तरतर्फ ७ सय मिटर, पश्चिमतर्फ ७ र पूर्व तर्फ ३ सय मिटर क्षेत्रसम्म जारी गरिएको छ।
यस अघि पनि हिन्दू र मुस्लिम समुदायबीच झडप भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।