काठमाडौं- सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दा लिएर पुगेका ६ भिआइपी जुवाडे बुधबार पनि थुनामै गएका छन्।
सर्वोच्चमा बुधबार थप ६ जनाले बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेपछि सबै मुद्दालाई एकसाथ राखेर सुनुवाई गर्ने आदेश सर्वोच्चले गरेपछि उनीहरु थुनामै गएका हुन्।
सर्वोच्चले पहिले निवेदन दायर गरेका ६ जनालाई यसअघि २४ घन्टाभित्र अदालत उपस्थित हुन आदेश गरेको थियो।
सर्वोच्चको आदेश अनुसार उनीहरु मंगलबार नै अदालत उपस्थित गराइएको थियो। मंगलबार ढिला गरी अदालत उपस्थित भएपछि उनीहरुको मुद्दा सुनुवाई हुन सकेको थिएन।
भाइटीकाअघि नै छुट्ने आशामा यसअघि सर्वोच्च पुगेका भिआइपी जुवाडेको मुद्दा सोमबार समय अभाव भन्दै हेर्दाहेर्दैमा राखिएको थियो।
तिहारभर थुनामा बस्नुपर्ने भएपछि सर्वोच्च जानेमा क्यासिनोका खेलाडी बलराम सापकोटा ‘बले’ ठेकेदार पवनकुमार गुप्ता,उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेष्टीका सञ्चालक पवित्रकुमार कार्की, जुवा खेलाउने विक्रम गौतम र मुक्ती लामाले सर्वोच्च गुहारेका थिए।
शनिबार राति महाराजगञ्जबाट पक्राउ परेका उनीहरुको साथबाट २ करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ लाख रुपैयाँको चेक, ३२ थान कौडा र ४ बुक तास बरामद भएको थियो।
उनीहरुसँग पक्राउ परेका थप ६ जनाले सोही प्रकृतिको मुद्दा दायर गरेपछि एकसाथ राखेर हेर्न आदेश भएको सर्वोच्च अदालत सहप्रवक्ता देवेन्द्र ढकालले बताए।
६ बन्दीलाई २४ घन्टाभित्र उपस्थित गराउन आदेश
प्रहरीले थुनामा राखेको कार्य गैरकानुनी भएको भन्दै पछिल्लो पटक थप ६ बन्दीले दायर गरेको निवेदनमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ।
सर्वोच्चले उनीहरुलाई पनि २४ घन्टाभित्र अदालत उपस्थित गराउन भनेको छ।
सर्वोच्चको आदेश अनुसार प्रहरीले बिहीबार उनीहरुलाई अदालत उपस्थित गराउने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।